
पोखरा, २७ बैशाख । नेपालीलाई भूटानी शरणार्थी वनाएर अमेरीका पठाईदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका नीजि सचिव नरेन्द्र केसीलाई पक्राउ गरेको छ ।
शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा खाँणलाई बुधबार बिहान उनकै निवासवाट अनुसन्धानका क्रममा पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए । खाँण पक्राउ परेसँगै भूटानी शरणार्थी प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या ११ पुगेको छ ।
यसअघि प्रहरीले रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमालेका सचिव एवं पुर्व मन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ । यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहँदै आएका छन् । उनलाई पक्राउ गर्न एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि हालसम्म फेला परेका छैनन ।
अनुसन्धानमा सहज होस भनेर सरकारले आजै गृहसचिव हेरफेर गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृहसचिवको जिम्मेवारी दिएको छ भने हालका गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।







