पाेखरा, १३ असाेज । कास्कीको पोखरा महानगरपालिका–९, नयाँबजारस्थित पाेखरा महानगरपालिकाकाे कार्यालय नजिक बेवारिसे अवस्थामा भेटिएको शंकास्पद सुटकेसभित्र कुनै पनि वस्तु फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज १२ गते बिहान महानगरकाे कार्यालय बाहिर सुकेको घाँसले छोपेर राखिएको निलो रङको बेवारिसे सुटकेस देखिएको थियो। सुटकेस शंकास्पद देखिएपछि वम रहेकाे आशंकामा त्रसित वनेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी , नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको टोलीसमेत घटनास्थलमा खटिएको थियो।
तपश्चात्, नेपाली सेनाको विशेष बम डिस्पोजल टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै उक्त निलो सुटकेस खोलेर हेरेको थियो। जाँचका क्रममा सुटकेसभित्र कुनै पनि किसिमको शंकास्पद वा हानिकारक वस्तु फेला नपरेको र त्यो पूर्ण रूपमा रित्तो रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

