स्कुल बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

-


     गण्डकी बहस     
     असाेज २३ गते २०८३ मा प्रकाशित


पाेखरा, २३ असाेज ।  पोखरा महानगरपालिका वडा नं. २८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको स्कुल  बस दुर्घटनालाई लिएर पाेखरा महानगर पालिकाले  वरिष्ठ शिक्षा अधिकृत  बद्री नाथ सुवेदीकाे संयाेजकत्वमा  ५ सदस्यीय छानबिन समिति  गठन गरेकाे छ ।
समितिका अन्य सदस्यहरुमा   मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा ,  ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई  रहेका  छन् ।
समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन  गरी सत्यतथ्यसहित ५ दिन भित्र आफ्नो  प्रतिवेदन पेस गर्नेछ  ।  साथै, विद्यालयका सवारीसाधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय र आवश्यक सुझावसमेत प्रस्तुत गर्ने गरि गठन गरिएको महानगर शिक्षा समितिका अध्यक्ष एवं  महानगर प्रमुख धनराज आचार्यले जानकारी दिएका छन ।

  दुर्घटनामा परेको खवरले आफू अत्यन्त दुःखी भएको भन्दै उनले  ज्यान गुमाउनुहुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका  छन् ।

उक्त वसमा  विद्यार्थी, चालक तथा सहचालक गरी २२ जना सवार रहेकोमा ५ जनाको ज्यान गएको र १७ जना घाइते  भएका छन् । अघाइतेको पाेखराका विभिन्न अस्पतालमा उपचार भईरहेकाे छ ।