पाेखरा, २३ असाेज । पोखरा महानगरपालिका वडा नं. २८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बस दुर्घटनालाई लिएर पाेखरा महानगर पालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्री नाथ सुवेदीकाे संयाेजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेकाे छ ।
समितिका अन्य सदस्यहरुमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा , ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहेका छन् ।
समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन गरी सत्यतथ्यसहित ५ दिन भित्र आफ्नो प्रतिवेदन पेस गर्नेछ । साथै, विद्यालयका सवारीसाधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय र आवश्यक सुझावसमेत प्रस्तुत गर्ने गरि गठन गरिएको महानगर शिक्षा समितिका अध्यक्ष एवं महानगर प्रमुख धनराज आचार्यले जानकारी दिएका छन ।
दुर्घटनामा परेको खवरले आफू अत्यन्त दुःखी भएको भन्दै उनले ज्यान गुमाउनुहुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
उक्त वसमा विद्यार्थी, चालक तथा सहचालक गरी २२ जना सवार रहेकोमा ५ जनाको ज्यान गएको र १७ जना घाइते भएका छन् । अघाइतेको पाेखराका विभिन्न अस्पतालमा उपचार भईरहेकाे छ ।

