
पोखरा । पोखराको साहित्य, कला, सङ्गीत, संस्कृति तथा पर्यटकीय गतिविधिलाई एकै स्थानबाट संरक्षण, विकास र प्रवर्नध गर्ने उद्देश्यले निर्माण गरिएकाे ‘पोखरा घर’ काे आज एक समारोहबीच पाेखरा महानगर प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवि गुरुङले उद्घाटन गर्नुभयो ।
कुल दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको बहुउद्देश्यीय केन्द्र पोखरा घर’ निर्माणमा ६ करोड १२ लाख रुपियाँ खर्च भएको महानगरपालिकाले जनाएको छ ।
‘पोखरा घर’मा कोसेली घर, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा कला प्रदर्शनी केन्द्र, पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिको टिकट बुकिङ काउन्टर र पोखरा प्राज्ञ प्रतिष्ठान सञ्चालनमा रहेका छन् । याे सँगै आन्तरिक तथा बाह्य पर्यटकका लागि शुल्कसहितको शौचालय तथा स्नान कक्ष र घण्टाघरसमेत निर्माण गरिएको छ ।
।
कार्यक्रममा नगरप्रमुख आचार्यले पोखराको साहित्य, कला, सङ्गीत, संस्कृति तथा पर्यटकीय गतिविधिलाई एकै स्थानबाट संरक्षण, विकास र प्रवर्धन गर्ने उद्देश्यले ‘पोखरा घर’ निर्माण गरिएको बताउनुभयो । ।
स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरणमा ‘पोखरा घर’ले महत्वपूर्ण योगदान पुर्याउने विश्वास ब्यक्त गर्दै उहाले
पोखरा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै ‘कोसेली घर’मार्फत स्थानीय हस्तकला तथा घरेलु उत्पादनमा टेवा पुग्ने बताउनुभयो ।
।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, पोखरा महानगरपालिका-१७ की वडाध्यक्ष राधिका कुमारी शाही, वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र वडा नं. २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले शुभकामना मन्तव्य राख्दै ‘पोखरा घर’काे उद्देश्यअनुसार सार्वजनिक हित, स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटन प्रवर्धनमा सवै केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उपसचिव तथा सूचना अधिकारी कृष्ण तिवारीले गर्नुभएको थियो









