
पोखरा, ९ असार । सौराहपछि भैरहवा र पाल्पामा छलफल र अन्तरक्रिया गरी यसवर्षको तीन दिने जाउँ है पोखरा अभियान हालै सम्पन्न भएको छ ।
भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले पोखरा जस्तै भैरहवाले पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम अगाडि बढाउनुपर्ने बताउँदै पर्यटनमा नकारात्मक भन्दा सकारात्मक कुरालाई सबैले प्रवद्र्धन गर्नुपर्ने भनाई राखे ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जाउँ है पोखरा अभियान संचालनसँगै तीन प्रतिशतबाट अहिले पोखरा आउने आन्तरिक पर्यटकको हिस्सा ५० प्रतिशत पुगेको जानकारी दिए । जाउँ है पोखरा अभियानले नेपाली पनि पर्यटक हुन् भन्ने विषय सुरुवात गरेको अध्यक्ष सुवेदीले स्मरण गराए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा, चितवन र लुम्बिनी जोड्ने पर्यटनको त्रिकोणीय प्रवद्र्धनलाई पुनः अगाडि बढाइएको जानकारी दिंदै ती ठाउँ विचका अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः प्रबद्र्धन गर्दै गइने प्रतिवद्धता जनाए ।
होटल संघ नेपालका केन्द्रिय सदस्य चन्द्रप्रकाश श्रेष्ठले कानून विपरित आतंकवादी शैलीमा भारतीय पर्यटक सिमा नाकामा पक्राउ गरिएको भन्दै आपत्ती जनाए । कति भारतीय रुपैयाँ नेपाल ल्याउन पाउने हो भन्ने विषयमा भारतीय पर्यटकलाई नेपाली सुरक्षाकर्मीले दुःख दिने गरेको भन्दै यो विषय हेर्ने निकाय कुन हो भनी प्रश्न गरे ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु शर्मा, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापा, होटल तथा रेष्टुरेण्ट एशोसिएशन रुपन्देहीका अध्यक्ष राजेश महोत्रा र नेपाल भारत मैत्री संघ रुपन्देहीका अध्यक्ष श्रीचन्द गुप्ता लगायतले आफ्नो भनाई राखेका थिए ।
यसैगरी पाल्पामा आयोजित कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले पर्यटनका हिसावले पाल्पा सुन्दर गन्तव्य भएको बताउँदै विभिन्न मठमन्दिर र धामहरुको प्रचार आफूहरुले गर्न नसक्दा उक्त क्षेत्र पछाडि परेको बताए । पर्यटन र कृषिलाई जोड दिएर आफूहरु अगाडि बढ्न खोजिरहेको उनले सुनाए ।
होटल संघ पाल्पाका अयक्ष जयन्त भुषालले पाल्पा र तानसेन पर्यटनको कुनै ट्रान्जिट भन्दा पनि आफैंमा एक महत्वपूर्ण गन्तव्य भएको बताउँदै जिल्लामा घुम्ने र रमाउने थुप्रै स्थलहरु भएको बताए ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा साहासिक र अग्ला हिमालको गन्तव्य मार्ग भएको बताउँदै यहाँ आउने पर्यटकलाई कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा आफूहरु गंभीर रहेको जानकारी गराए । पाल्पा पनि महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको स्मरण गराउँदै अध्यक्ष आचार्यले यो स्थल किन पछि पर्यो भन्ने विषयमा समिक्षा गरी सबै पक्षले आफ्नो भूमिका पहिचान गरी अगाडि बढाउनुपर्ने सुझाव राखे ।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समिरमान सिंह, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की, नाट्टा पल्पाका अध्यक्ष राजीवकुमार शाह र तानसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष सागरमान महर्जनले पनि आफ्नो भनाई राखेका थिए । कार्यक्रमको संचालन अयोजक होटल संघ पोखराकी सचिव पार्वती पाण्डेले गरेकी थिइन् ।







