
पोखरा, १६ असार । मन्त्री, सांसद भन्दा कर्मचारी हावी भएको भन्दै सांसदहरुले प्रदेश सभामा आपत्ति जनाएपछि गण्डकीमा एक कर्मचारी कार्वाहीमा परेका छन् ।
मन्त्रालयको सिफारिस विनानै वजेट निर्माणका क्रममा आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले योजना समावेस गरेको र नीतिगत प्रक्रिया उल्ल्ंघन गरेको आरोप लगाउदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अर्थ सचिव पाण्डेलाई अर्थ मन्त्रालयको जिम्मेवारी वाट हटाएका हुन् । मुख्यमन्त्री पाण्डेले अर्थ सचिव पाण्डेलाई मुख्यमन्त्री कार्यालय अन्तर्गत जगेडामा सरुवा गरेका छन् ।
तनहुँको भानु नगरपालिका घर भएका अर्थ सचिव पाण्डेले आफ्नै पालिका र गृहजिल्लामा मात्रै २० करोड रुपया भन्दा वढी अस्वाभाविक बजेट पारेको आरोप लागेको थियो । तर, सचिव पाण्डेले भने आफूले अर्थ मन्त्रालयबाट कुनै योजना नथपेको र नघटाएको दाबी गरेका छन् ।







