
पाेखरा, १३ असाेज । नेपाली कांग्रेसकाे १५औँ महाधिवेशन अन्तर्गत यतिबेला वडा अधिवेशन सम्पन्न गर्दै निर्वाचन क्षत्रमा क्षत्रिय अधिवेशन देशभर एकसाथ चलिरहेकाे छ ।
कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा क्षत्रिय सभापति र केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि आज निर्वाचन हुँदै छ ।
कास्की क्षेत्र न २काे अधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि गण्डकी प्रदेशका पुर्व मन्त्री विन्दु कुमार थापा र उनका छाेरा साैगात थापाले उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका साैगातले ३५ वर्ष मुनीका उमेर समुहमा उम्मेदवारी दिएकाहुन भने विन्दुले खुल्ला तर्फ उम्मेदवारी दिईका हुन ।
व्यवसायिक क्षेत्रमा आफ्नो पहिचान बनाएका युवा व्यवसायी सौगात थापाले व्यवसायिक क्षेत्रबाट हासिल गरेको नेतृत्व र व्यवस्थापनको अनुभवलाई अब राजनीतिक तथा संगठनात्मक भूमिकामा जोड्ने बताएका छन्।
अंशुभरा ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका थापा पोखराको उद्योग–व्यवसाय क्षेत्रमा सक्रिय युवा व्यवसायी हुन्। उनी भर्खरै मात्र सम्पन्न पोखरा उद्योग वाणिज्य संघको निर्वाचित उद्योग उपाध्यक्षसमेत हुन् । व्यवसायिक नेतृत्वको अनुभवसँगै अब पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यले उनले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन्।
‘व्यवसायिक क्षेत्रमा काम गर्दा सिकेको नेतृत्व, व्यवस्थापन र समन्वयको अनुभवलाई अब संगठनात्मक भूमिकामा पनि उपयोग गर्न चाहन्छु,’ थापाले भने, ‘युवा पुस्ता केवल दर्शक भएर होइन, निर्णय प्रक्रियामै सहभागी भएर अघि बढ्नुपर्छ भन्ने मेरो धारणा हो।’
थापाले पार्टी संगठनलाई समयअनुकूल र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। युवाको ऊर्जा र अग्रजको अनुभवलाई समन्वय गर्दै संगठनलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।
‘युवाको आवाज पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा पुग्नुपर्छ। प्रविधिको बढ्दो प्रयोगसँगै पार्टीको काम गर्ने शैली पनि समयअनुकूल बनाउन आवश्यक छ,’ उनले भने।

