
पोखरा । गण्डकी प्रदेश सरकारले रसुवाकाे भाेटेकाेशी नदीमा आएको बाढी/पहिरोवाट प्रभावित आफ्ना नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
वाढिका कारण मृत्यु भएका, बेपत्ता भएका तथा घाइते नागरिक र उनीहरूका परिवारलाई तत्काल राहत तथा उपचारको व्यवस्था गर्ने गण्डकी प्रदेश सरकारले जनाएको छ।
बाढीपहिरोमा परी मृत्यु भएका वा बेपत्ता भएका गण्डकी प्रदेशका नागरिकका परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराइने निर्णय प्रदेश सरकारले गरेको छ । । त्यस्तै, विपत्तिमा परी घाइते भएका नागरिकलाई उपचार खर्चबापत ५० हजार रुपैयाँ प्रदान गरिने , मृत्यु भएका नागरिकका परिवारलाई काजकिरिया खर्चका लागि थप २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यसबाट विपत्तिका कारण आफन्त गुमाएका परिवारलाई तत्काल आवश्यक खर्च व्यवस्थापनमा केही सहयोग पुग्ने अपेक्षा गण्डकी प्रदेश सरकारले गरेको छ।
त्यसैगरी, बाढीपहिरोका कारण घाइते तथा बिरामी भई उपचारका लागि पोखरा आएका गण्डकीका नागरिकलाई उनीहरूको घरसम्म सुरक्षित रूपमा पुर्याउन प्रदेश सरकारले सवारीसाधनको व्यवस्था समेत गरेको छ । उपचारपछि घर फर्कन कठिनाइ भएका नागरिकलाई यस व्यवस्थाले राहत पुग्ने विश्वास गरिएको छ।
यसअघि नै गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा प्रदेश सरकारका तर्फबाट चार करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरिसकेको छ।
बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत, उपचार तथा घर फर्कने व्यवस्था मिलाउने प्रदेश सरकारको निर्णयलाई विपत्तिको समयमा नागरिकप्रति राज्यको जिम्मेवारी पूरा गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

