लेखनाथमा खानेपानी सुरक्षा सम्बन्धी अभिमुखीकरण, यसैवर्ष देखी घट्यो पानीको महशुल

-


     गण्डकी बहस     
     श्रावण ९ गते २०८३ मा प्रकाशित


लेखनाथ, ०९, साउन । लेखनाथ खानेपानी उपभोक्ता संस्थाले आँफु मातहतका क्षेत्रिय उपसमिति र खानेपानी सुरक्षा उप–समितिका पदाधिकारी एवं सदस्यहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेर खानेपानी सुरक्षा सम्बन्धी सचेतना जगाउने काम गरेकोे छ ।
संस्थाले वितरण गर्ने खानेपानी मुहानदेखी उपभोक्ताको भान्सा हुँदै मुखसम्म सुरक्षित राख्ने उद्देश्यले क्षेत्रिय समिमितका सदस्यहरुलाई सस्थागत जानकारी गराउन यो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष मुरारी शर्माले संस्थाले क्षेत्रगत रूपमै समस्या समाधान गर्ने गरी नयाँ कार्यशैली अघि सारेको वताए । उनले अवदेखी क्षेत्रीय बैठकहरूमा सम्बन्धित क्षेत्रका प्लम्बर र मिटर जाँच्नेलाई सहभागी गराएर स्थानीय समस्यालाई स्थानीयस्तरमै समाधान गर्न पहल गरिने जानकारी दिए । अध्यक्ष शर्माले सामान खरिदमा कानुनी प्रक्रिया पूर्ण रूपमा पालना गर्दै आएको बताउँदै सूचीकृत संस्थाहरूबाट मात्र टेन्डर माग्ने र आपतकालीन अवस्थामा मात्र कार्यसमितिको निर्णयबाट छिटो प्रक्रिया अपनाइने उनले जनाए । नेपाल सरकारले खरिद ऐन २०८३÷२०८४ मा २०८२÷२०८३को पुरानै दररेटमा पाइप राखेकाले पाइप आपूर्तिमा समस्या आई निर्माण कार्य नै रोकिने जोखिम रहेकोप्रति उनले चिन्ता व्यक्त गरे ।
सय लिटर खानेपानी योजनाअन्तर्गत पानी आइरहेको भए पनि पाइप फुट्ने र स्रोतमै पानी धमिलिने समस्या दोहोरिरहेको शर्माले बताए । मुहान सार्ने प्रयास सफल नभए पनि मेयर र राजनीतिक दलहरूको सकारात्मक धारणा रहेकाले समाधानको आशा रहेको उनले उल्लेख गरे । उनले नगर विकास बोर्डसँग लिएको ऋणमध्ये ठूलो हिस्सा तिरिसकेको र सम्बन्ध कायम राख्न आंशिक रकम मात्र बाँकी राखिएको उनले बताए। साथै, संस्थाले वितरण गर्ने क्लोरिनयुक्त पानी गुणस्तरका हिसाबले मुहानको पानीभन्दा राम्रो भए पनि स्वादका कारण उपभोक्ताले रुचाउन नसकेको भन्दै आगामी दिनमा दुवै स्रोतको गुणस्तर परीक्षण गरिने बताए ।
सस्थाले यही आर्थिक वर्ष देखी लागु हुनेगरी पानीको महसुलदर घटाएको छ । यस्ले गरी गरिब तथा विपन्न वर्गका उपभोक्तालाई राहत मिलेको छ । यस अघि अधिकतम दर ४५ रुपैयाँ रहेकोमा अहिले ३६ रुपैयाँमा झारिएको छ भने धारा जडानमा पहाडी र शहरी क्षेत्रका उपभोक्तालाई समान शुल्क तोकिएको छ ।
सचिव सुर्यनाथ भण्डारीले वार्षिक रुपमा बनाईएको कार्ययोजना बमोजिम उपसमितिले कार्यहरु गर्दै जाने विश्वास व्यक्त गरे । उनले यस्ता कार्यक्रमले संस्था र उपभोक्ताहरु विच पुलको काम गर्दै उपभोक्ताहरुमा समेत खानेपानी सुरक्षा सम्बन्धी सचेतना पुग्ने बताए । कार्यालय प्रमुख शिव प्रसाद अमात्यले खानेपानी सुरक्षा व्यवस्थापन र प्राविधिक पक्षको विषयमा र सहायक कार्यालय प्रमुख विश्वराम भण्डारीले खानेपानी सुरक्षा योजना कार्यविधि र संस्थागत खानेपानी सूरक्षा योजना कार्यक्रमका कार्य विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कार्यालय प्रमुख शिव प्रसाद अमात्यले कार्यालय व्यवस्थापन र प्राविधिक पक्षको विषयमा र सहायक कार्यालय प्रमुख विश्व राम भण्डारीले विद्यानमा भएका व्यवस्था र संस्थागत पक्षका विषयमा जानकारी दिएका थिए ।
उक्त अवसरमा क्षेत्र नं ४ का संयोजक प्रेम प्रसाद बराल, सह–सचिव टिकाराम भुर्तेल, कोषाध्यक्ष डम्बर बहादुर थापाले आफ्नो भनाई राखेका थिए भने कार्यक्रमको सञ्चालन विश्वराम भण्डारी र धन्यवाद ज्ञापन उपाध्यक्ष भरतराज न्यौपानेले गरेका थिए ।
सुरक्षा उप–समितिका संयोजक मुकुन्दराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सह–संयोजक राधा सापकोटाले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सहायक कार्यालय प्रमुख विश्व राम भण्डारीले गरेका थिए ।