चोरीमा संलग्न ४ विदेशीसहित ९ जना पक्राउ, लाखौरुपया नगद सहित सुनका गरगहना बरामद

-


     गण्डकी बहस     
     श्रावण २ गते २०८३ मा प्रकाशित


पोखरा, २ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा भएका चोरीका घटनामा संलग्न ४ विदेशी नागरिकसहित ९ जनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धानका आधारमा उनीहरूलाई चोरीका विभिन्न सामानसहित पक्राउ गरेको हो। पक्राउ परेकामाथि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पोखरा–१८ मणिमार्गस्थित एक घरबाट करिब २५ तोला सुनका गरगहना र रु. ६७ हजार नगद चोरी भएको थियो। त्यसैगरी पोखरा–१७ छोरेपाटनस्थित घरबाट करिब आधा तोला सुन, रु. २ लाख ५० हजार नगद, एक थान ल्यापटप र एक थान मोबाइल चोरी भएको घटना सार्वजनिक भएको थियो। पोखरा–१८ भकुण्डे, पोखरा–८ ज्ञानकुञ्ज मार्ग तथा पोखरा–६ लेकसाइडका घरहरूमा समेत मोबाइल, नगद र सुनका गरगहना चोरी भएका घटनामा एउटै समूहको संलग्नता रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा भारतका उत्तर प्रदेशका २३ वर्षीय राहुल निषाद, महाराष्ट्रका ४० वर्षीय सोमनाथ हनुमन्त जाधव, चीनका Guizhou निवासी ३० वर्षीय Wen Jie र Shandong निवासी ३७ वर्षीय Wang Lianyin रहेका छन्। यस्तै नेपालतर्फ स्याङ्जा, कास्की, अर्घाखाँची र बागलुङका पाँच जना पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट ९ थान मोबाइल फोन, १ थान स्मार्ट घडी, १ थान ल्यापटप, करिब २५ तोला बराबरका विभिन्न सुनका गरगहना तथा रु. २ लाख १ हजार २२० नगद बरामद गरेको जनाएको छ। बरामद गरिएका सुनका सामग्रीमा विभिन्न तौलका टिका, टुक्रा र ब्रेसलेटसमेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले श्रृंखलाबद्ध चोरीका घटनाको सफल अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको जनाएको छ। प्रहरीले नागरिकलाई घर छाड्दा सुरक्षा सतर्कता अपनाउन, बहुमूल्य सामान सुरक्षित राख्न तथा शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। चोरीमा संलग्न अन्य व्यक्तिको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ