वसमा यात्रा गरिरहेकी महिलाको सुनका गहना चोरी गरेकाे अभियाेगमा ३ जना पक्राऊ

-


     गण्डकी बहस     
     श्रावण २ गते २०८३ मा प्रकाशित


पोखरा, २ साउन । जिल्ला प्रहरी कार्यालय, कास्कीले सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको सुनका गहना चोरी गरेकाे आराेपमा तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८३ साल साउन १ गते दिउँसो करिब १:५० बजे रूपा गाउँपालिका–५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग २ ख ३७३७ नम्बरको बसमा यात्रा गरिरहेकी स्याङ्जा पुतलीबजार नगरपालिका–१३ निवासी २९ वर्षीया अनिता श्रेष्ठको रातो रङको लेडिज पर्स चोरी भएको थियो। पर्सभित्र सुनजस्तो एक थान हार , दुई थान चाँदीका औँठी र नगद रहेको थियो।
घटनाको जानकारी प्राप्त भएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाउँदै चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका–१५ निवासी ४२ वर्षीय गुरु प्रसाद बजगाईं, नवलपरासी (चन्द्रागिरि गाउँपालिका–८) घर भई हाल पोखरा–१ शान्तिवन बस्ने २४ वर्षीय रोबिन खड्का तथा झापा कनकाई नगरपालिका–८ घर भई हाल पोखरा–६ खहरे बस्ने ४५ वर्षीय सूर्यबहादुर भुजेल रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट चोरी भएको सुनको हार, दुई थान चाँदीका औँठी तथा अन्य सामग्री बरामद गरेको जनाएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।