लेखनाथ खानेपानीले महशुल दर घटायो, बिपन्नलाई सय रुपैयाँमा पानी

-


     गण्डकी बहस     
     असार १० गते २०८३ मा प्रकाशित


लेखनाथ, १० असार । लेखनाथ खानेपानी उपभोक्ता समितिले साउन एक गतेदेखि पानीको दर घटाउने र सेवा सुलभ बनाउने निर्णय गरेको छ। समितिको हालै सम्पन्न सातौँ अधिवेशनपश्चात् आयोजित पदस्थापन कार्यक्रममा अध्यक्ष मुरारी शर्माले यस्तो जानकारी दिए।
अधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन सम्पन्न भएकोमा शर्मा विजयी भएका हुन्। निर्वाचनअगावै सर्वसम्मतिको प्रयास भएको तर सफल नभएपछि निर्वाचन प्रक्रियामा जानुपरेको शर्माले बताए। उनले हारेका प्रतिस्पर्धीलाई सम्मानजनक ढङ्गले स्वीकार गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।
दर एकीकरण तथा कटौती
अहिलेसम्म सहलगानी (पहाडी भुभागका) क्षेत्रका उपभोक्ताले ३७ हजार ८ सय २५ रुपैयाँ र समथर भुभागका उपभोक्ताले २३ हजार ८ सय २५ रुपैयाँ धारा जडान शुल्क तिर्दै आएकामा साउन एक गतेदेखि एउटै दरमा अर्थात २३ हजार ८ सय २५ रुपैयाँमै धारा जोड्न पाउने अध्यक्ष शर्माले बताए।
पानी उपभोगको दरमा पनि उल्लेख्य कटौती गरिएको छ। पाँचदेखि बीस युनिटसम्म प्रति युनिट २२ रुपैयाँ, बीसदेखि तीस युनिटसम्म अघिल्लो ३२ रुपैयाँको सट्टा २७ रुपैयाँ र त्योभन्दा माथिका युनिटहरूमा दस–दस युनिटको फरकमा पाँच रुपैयाँ मात्र थपिने व्यवस्था गरिएको उनले जानकारी दिए। पहिले ४५ रुपैयाँ प्रति युनिट तिर्नुपर्ने सबभन्दा उच्च दर अब ३६ रुपैयाँमा झारिएको छ।
गरिबीको रेखामुनिका लागि विशेष व्यवस्था
गरिबीको रेखामुनि रहेका उपभोक्ताले हालसम्म दुई वा तीन युनिट पानी खपत गर्दा समान रूपमा डेढ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता थियो। अब भने उनीहरूलाई पाँच युनिटसम्म पानी मात्र सय रुपैयाँमा उपलब्ध गराइने अध्यक्ष शर्माले बताए। यो निर्णय नगरपालिकाका मेयरसँगको समन्वयमा भएको उनले उल्लेख गरे।
कर्मचारीलाई एक ग्रेड बढुवा
समितिले कर्मचारीहरूको माग सम्बोधन गर्दै सबै स्थायी कर्मचारीलाई एक–एक ग्रेड बढुवा दिने निर्णय समेत गरेको छ। अस्थायी कर्मचारीहरूलाई भने प्राविधिक कारणले ग्रेड प्रणाली लागू नहुने भएकाले प्रत्येकलाई एक–एक हजार रुपैयाँ मासिक थप गरिने अध्यक्ष शर्माले घोषणा गरे।
क्षेत्रीय संयोजकलाई सक्रिय हुन आग्रह
अध्यक्ष शर्माले सबै क्षेत्रीय संयोजकहरूलाई आ–आफ्नो क्षेत्रका प्लम्बर र मिटर रिडरसँग तत्काल बैठक गरी समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरे। उपभोक्ताले पानी नआएको गुनासो गरेमा संयोजकमार्फत सहजै समाधान हुने व्यवस्था मिलाउन उनले निर्देशन दिए।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.३० का वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले नेपाली संस्कार अनुसार पानी खुवाउने कार्यलाई पुण्य कमाउने अवसरको रुपमा पनि लिईने भएकाले खानेपानी जस्तो संस्थामा रहेर काम गर्न धेरैको चासो र ईच्छा हुने गरेको वताए ।
संस्थाले वितरण गर्ने पानी कुनै दलको वा कुनै भेगको नहुने वताउँदै यस किसिमका संस्थामा राजनितिक रंग देखीन नहुनेमा जोड दिएका थिए ।
३ निर्वाचन पारदर्शी र विधिसम्मत भएको निर्वाचन समितिको दाबी
लेखनाथ खानेपानी उपभोक्ता समितिको हालै सम्पन्न छैटौँ अधिवेशनको निर्वाचन प्रक्रियामाथि उठेका प्रश्नहरूको जवाफ दिँदै निर्वाचन समितिका संयोजक नबराज सापकोटाले निर्वाचन पूर्णतः विधिसम्मत र तटस्थ रहेको दाबी गरेका छन्।
सापकोटाले भने, “मतपेटिकामा जसले जति मत प्राप्त ग¥यो, उही विजयी भएको हो। हामीले कसैको पक्ष वा विपक्षमा कुनै भूमिका निर्वाह गरेनौँ।“ निर्वाचन प्रक्रियामाथि प्रश्नचिन्ह उठाइएकाले आफूले यो स्पष्टीकरण दिनु आवश्यक भएको उनले बताए। निर्वाचनका सम्पूर्ण कागजात र प्रक्रियाहरू कुनै पनि कानुनी जानकारलाई देखाएर जाँच्न समेत उनले खुला चुनौती दिए।
निर्वाचनका क्रममा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका तीन जनाले पछि आफ्नो उम्मेदवारी फिर्ता लिई सदस्य पदमा सार्न खोजेको प्रयासलाई निर्वाचन समितिले अस्वीकार गरेको सापकोटाले जानकारी दिए। “निर्वाचन पद्धति र मूल्य–मान्यताले यस्तो अनुमति दिँदैन। त्यसैकारण हामीले यसपटक निर्वाचन प्रक्रियामा कडाइ अपनायौँ,“ उनले भने। सर्वसम्मतिको अपेक्षामा छापिएका मतपत्रसमेत खेर गएको उनले उल्लेख गरे।
सापकोटाले खानेपानी जस्तो सामाजिक संस्थामा राजनीतिक रङ नलगाउन पुनः आग्रह गरे। “पानीको रङ हुँदैन। धारामा आउने पानीले म यो पार्टीको हुँ भनेर भन्दैन। त्यसैले यस संस्थामा राजनीतिको जुत्ता बाहिरै राखेर पवित्र भएर प्रवेश गरौँ,“ उनले भने।
उनले थपे कि उपभोक्ता क्षेत्रमा सर्वसम्मतिको पाठ पढाउने तर आफ्नै मूल समितिको निर्वाचनमा त्यो अभ्यास नगर्ने प्रवृत्ति विरोधाभासपूर्ण रहेको छ। “पहिले आफ्नै ऐना हेरौँ। ऐना सफा छ भने हेर्ने दृष्टिकोण पनि सफा हुनुपर्छ,“ उनले भने।