मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र बन्ने, शीर्ष भूमिकामा पोखराका महेश त्रिपाठी

-


     गण्डकी बहस     
     असार ९ गते २०८३ मा प्रकाशित


पाेखरा ९ असार । वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित जीवनीपरक चलचित्र निर्माण हुने भएको छ। निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा चयन भएका छन्।

चलचित्रमा त्रिपाठीले मदनकृष्ण श्रेष्ठको युवावस्था र कलात्मक यात्राको भूमिका निर्वाह गर्नेछन्। श्रेष्ठकी स्वर्गीय पत्नी यशोदा सुवेदीको भूमिकामा भने अधिकारी देखिनेछिन्। चलचित्रले श्रेष्ठको प्रेरक र संघर्षमय जीवनकथालाई पर्दामा ल्याउने तयारी गरेको छ।

यसअघि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’ जस्ता जीवनीपरक चलचित्र निर्देशन गरेर पहिचान बनाएका चाम्सले यस ऐतिहासिक चलचित्रको निर्देशन सम्हाल्न लागेका हुन्। ुहल्काराु, ुपरानु र ुलाज शरणम्ु जस्ता चलचित्रमा सशक्त अभिनय गरेका त्रिपाठीलाई मदनकृष्णको भूमिकाका लागि छानिएको हो।

चलचित्रमा मदनकृष्णको बाल्यकाल र समाजमा जातीय विभेद कायम रहेको समयमा भएको उनको अन्तरजातीय विवाहको कथा समेटिनेछ। यसका साथै पत्नी यशोदाको क्यान्सरसँगको संघर्ष र हरिबंश आचार्यसँग मिलेर बनेको ऐतिहासिक ‘महजोडी’ को कालखण्ड यस चलचित्रका मुख्य आकर्षण हुनेछन्।

चलचित्रले आम दर्शकलाई गहिरो भावना र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। ‘मदनकृष्ण श्रेष्ठको जीवनका विविध आयाम र कला यात्रालाई न्याय हुने गरी चलचित्र निर्माण गरिनेछ,’ निर्देशक चाम्सले भने। चलचित्रको अन्य प्राविधिक पक्ष र छायांकनको तयारी तीव्र गतिमा भइरहेको उनले जानकारी दिए।