
पोखरा, ११ जेठ – पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित सेती नदीको खोचमा खसेर बेपत्ता भएका एक पुरुषको शव सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले फेला पारेको छ।
भारतको सितामढी स्थायी घर भई हाल पोखरा–१७ घारिपाटन बस्दै आएका ३४ वर्षीय मुकेश महतो जेठ १० गते राति पौने १० बजे सेती नदीको खोचमा हाम फालेर बेपत्ता भएको खबर प्राप्त भएको थियो।
खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमाण्डमा १८ जनाको विपद् व्यवस्थापन टोली राति नै घटनास्थल खटिएको थियो। राति गरिएको खोजीमा शव नभेटिएपछि टोली फर्किएको थियो।
जेठ ११ गते बिहान ६:४० बजे सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा ११ जनाको विशेष विपद् व्यवस्थापन टोली पुनः खोजीका लागि परिचालन गरिएको थियो। उक्त टोलीले अथक प्रयास गरी बिहान ९:४५ बजे करिब २५० फिट गहिरो खोचबाट रोप रेस्क्यु प्रविधिको प्रयोग गरी शव बाहिर निकालेको हो।
सशस्त्र प्रहरीले शव नेपाल प्रहरीलाई बुझाएपछि मुचुल्का पूरा गरी पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







