अनुसन्धान र प्रयोगात्मक कार्यमा विद्यार्थीलाई अग्रसर वनाउदै एसओएस गण्डकी, विद्यालयमा बृहत् विज्ञान प्रदर्शनी २०८२ सम्पन्न

-


     गण्डकी बहस     
     मंसिर ८ गते २०८२ मा प्रकाशित


पोखरा । विद्यार्थीलाई अनुसन्धान र प्रयोगात्मक कार्यमा अग्रसर गराउनका लागि पोखराको रामबजारमा रहेको एसओएस हर्मन माइनर स्कूल गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी २०८२ सम्पन्न भएको छ । विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लवको आयोजनामा विद्यालयमा हरेक वर्ष विज्ञान प्रदर्शनी हुदै आएको छ ।

विद्यार्थीले सूचना प्रविधिको विकाससँगै त्यसले मानव जीवनमा पारेको प्रभाव, शहरीकरण र औद्योगिकीकरणले निम्त्याएको पर्यावरणीय असन्तुलन, कृषिमा आधुनिकिकरण, अन्तरिक्ष, जल प्रसोधन लगायत विभिन्न यान्त्रिक उपकरणहरुको उपयोगितालाई प्रदर्शनीको विषय बनाएर आफ्ना परियोजनाहरु प्रदर्शन गरेका थिए ।

प्रदर्शनीका लागि विद्यार्थीहरूले झन्डै दुई महिना लगाएर आफ्ना परियोजनाहरू तयार पारेका थिए । नविन परियोजनात्मक प्रदर्शनी भएकाले पोखराका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरू समेत प्रदर्शनीको अवलोकनका लागि विद्यालय पुगेका थिए ।
विद्यार्थीहरूको एकल, युगल र सामूहिक प्रस्तुति रहेको उक्त प्रदर्शनीमा विविध क्षेत्रका १४९ वटा परियोजना समावेस गरिएको थियो । जस्मा ३ सय ९७ विद्यार्थीहरुले भाग लिएका थिए ।

विज्ञान प्रदर्शनीमा कक्षा ६ देखि ८, कक्षा ९ र १०, कक्षा ११ र १२का विद्यार्थीहरुले छुट्टाछुट्टै प्रदर्शनी गरेका थिए ।
विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएका परियोजनामूलक स्टलहरूको मूल्याङ्कन डा विजयवावु थापाको नेतृत्वमा रहेको ६ सदस्यीय टिमले गरेको थियो ।

एसओएस वालग्राम नेपालका राष्टिय नायव निर्देशक उपेन्द्र मल्लको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम को अर्डिनेटर मिलन खत्रीले स्वागत गरेका थिए । प्रदर्शनीमा आधारभूत तहतर्फ कक्षा ६ देखी ८ सम्मको समूहमा प्रज्ञान वराल र रायन ढकालको समूह प्रथम, रशि शाहको समूह द्वितीय, साश्वत पराजुलीको समूह तृतीय स्थान हासिल गरेका थिए ।

यस्तै माध्यमिक तहअन्तर्गत कक्षा ९ र १० मा विशाल सरगम सुवेदीको समूहले प्रथम, स्मारिका न्यौपानेको समूहले द्वितीय र मुहम्मद अनिशले तृतीय स्थान हासिल गरेका थिए भने कक्षा ११ र १२ मा अग्रिम राज तिवारीको समूह प्रथम, आगमन वस्नेत द्वितीय र समृद्दि पौडेलको समूहले तृतीय स्थान हासिल गरेका थिए

प्रदर्शनीमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदी र प्रदर्शनीका निर्णायकहरूले संयुक्त रूपमा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

विज्ञानका सैद्धान्तिक कुराहरूलाई प्रायोगिक विधिबाट सिकाउने वातावरण सिर्जना गराउन र उनीहरूलाई लघुअनुसन्धानतर्फ अभिप्रेरित गर्न विद्यालयले बृहत् विज्ञान प्रदर्शनी आयोजना गरेको प्रधानाध्यापक चूडामणि सुवेदीले बताए ।