फागुन २१ मा हुने निर्वाचनमा सहभागि हुन दलहरुलाई नागरिक समाजको आग्रह

- स्वेच्छिक अवकास लिएर मार्ग प्रसस्त गर्न प्रमुख दलका नेतृत्वलाई सुझाव

-


     गण्डकी बहस     
     असाेज २२ गते २०८२ मा प्रकाशित


पोखरा, २२ असोज । नागरिक समाजका अगुवाहरुले निर्धारित समयमा नै आगामी निर्वाचन सम्पन्न गराउन सरकार र प्रमुख राजनीतिक दलहरुलाई सचेत गराएका छन् ।
आगामी फागुन २१ मा हुने निर्वाचनका लागि दलहरुसँग परामर्श गर्न सरकारको ध्यानाकर्षण गराएका छन भने प्रमुख राजनीतिक दलहरुलाई आगामी निर्वाचनमा सहभागि हुन आग्रह गरेका छन् । ताकिएको समयमा निर्वाचन नभए राजनीतिक र संवैधानिक संकट आउने भन्दै विभिन्न ३० जना नागरिक अगुवाहरुले ‘राजनीतिक दलहरूले यदि, तर जस्ता कुनै पनि वहाना नवनाई आगामी निर्वाचनमा सहभागी हुन अपिल गरेका छन् ।

निष्पक्ष चुनाव नै अहिलेको आवश्यकता भएको भन्दै उनीहरूले यसको लागि प्रहरीको मनोबल उच्च बनाउन सरकारको ध्यानाकर्षण गराएका गराएका छन् । ‘निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि शान्ति, सुरक्षा पहिलो सर्त हो । तर शान्ति÷ सुरक्षाको दृष्टिले अहिले चुनौतीपूर्ण देखिन्छ । एकातिर सुरक्षा निकायको मनोबल अत्यन्त कमजोर छ भने अर्कोतिर नेपाल प्रहरीका ११०० भन्दा बढी हातहतियार लुटिएको सूचना सरकारले नै जारी गरेको छ,’ अपिलमा भनिएको छ, ‘नेपाल प्रहरीका अधिकांश कार्यालय जलाइएका छन्, सञ्चार उपकरण पर्याप्त छैनन्, उनीहरूसँग पोशाक र सुरक्षाका न्यूनतम उपकरणसमेत छैनन् । गम्भीर अपराधमा संलग्न जेलबाट भागेका कैदीबन्दी र अपराधीहरूले हत्या, चोरी, डकैती गर्न थालेपछि समाजमा भय र आतंकको वातावरण सिर्जना भएको छ । त्यसैले सुरक्षा निकायको मनोबल उच्च बनाई आवश्यक साधन(स्रोत व्यवस्थापन गरी अविलम्ब शान्ति(सुव्यवस्था बहाल गर्न सरकारको ध्यान आकर्षण गर्न चाहन्छौं ।’ –नागरिक अगुवाहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा राजनीतिक विश्लेषक, लेखक, साहित्यकार, प्राध्यापक, अधिकारवाद सहितका अगुवाहरुले प्रमुख दलका नेतृत्वलाई जेनजी विद्रोहपछि सिर्जना भएको असाधारण राजनीतिक परिवेशलाई मध्यनजर गर्दै हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वैच्छिक अवकाश लिन सुझाएका छन् । दलका नेतृत्वको राजीनामा केवल कुनै दल विशेषको भविष्यका लागि मात्रै नभएर, लोकतन्त्र र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन का लागि रहेको स्पष्ट पारेका छन् । जनभावना अनुसार दलले आफूलाई पुनर्गठन, रूपान्तरण र शुद्धीकरण नगरे थप अलोकप्रिय, र अनुत्तरदायी हुने तर्फ नागरिक अगुवाहरुले सचेत गराएका छन् ।

विज्ञप्तिमा खगेन्द्र संग्रैला, इन्द्र अधिकारी, केदारभक्त माथमा, उद्धव प्याकुरेल, कसमस विश्वकर्मा, कृष्ण खनाल, गेजा शर्मा वाग्ले, केशव खनाल, चन्द्रकिशोर, लोकराज बराल, मुमाराम खनाल,
अर्चना थापा, उत्तमबाबु श्रेष्ठ, चरण प्रसाई, झलक सुवेदी, दिनेश त्रिपाठी, दीपेश घिमिरे, दोभान राई, तारानाथ दाहाल, तुलानारायण शाह, भोजराज पोखरेल, मीना पौडेल, रजनी ढकाल, राजाराम गौतम, लोकराज बराल, विद्याधर मल्लिक, विनोद सिंजापति, संगीता लामा, सञ्जीव उप्रेती, श्रवण मुकारुङ र युग पाठकले हस्ताक्षर गरेका छन् ।