जेनजी आन्दोलनका कारण पोखराका अधिकाम्स सरकारी कार्यालयमा आगजनी र तोडफोड

-


     गण्डकी बहस     
     भाद्र २५ गते २०८२ मा प्रकाशित


  पोखरा । प्रशासनले लगाएको कर्फु उल्लंघन गर्दै जेनजी प्रदर्शनकारीले पोखरामा रहेका अधिकाम्स सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । भ्रष्टाचारबिरुद्द आन्दोलनमा होमिएको जेनजीले पोखराको  शहिदचोमा रहेको गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र सो मातहत रहेका मन्त्रालयहरुमा तोडफोड तथा आगजनी गरेका हुन् । प्रदर्शनकारीले गरेको आगजनीका कारण पोखरा धुँवामय वनेको थियो । 

आन्दोलनकारीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय भित्रै पसेर आगजनी गर्नुका साथै तोडफोड गरेका हुन् । त्यस्तै, गण्डकी प्रदेशका अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीले गण्डकी प्रदेश सभामा पनि आगजनी र तोडफोड गरेका छन् । ठूलो संख्यामा पुगेका जेनजी प्रदर्शनकारीले प्रदेश सभा कार्यालय परिसर प्रवेश गरेर आगजनीसँगै तोडफोड गरेका हुन् । प्रदर्शनकारीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमासमेत तोडफोड तथा आगजनी गरेका छन् ।

जेनजी प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी तथा तोडफोड गरे । उनीहरुले महानगरपालिका परिसर भित्रै प्रवेश गरेर तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । सो क्रममा उनीहरुले महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत जयराम आचार्य लगायत चढ्ने गाडीहरु जलाए । साथै त्यहाँ रहेका सबै मोटरसाईकलमा आगजनी गरेका छन् । पोखरा सभागृहवाट चिप्लेढुंगातर्फ अगाडी वढेका प्रदर्शनकारी पोखरा महानगरपालिका अगाडी पुगेर सुरक्षामा खटिएका प्रहरीसँग झडप भएको थियो । सो क्रममा प्रहरीले वल प्रयोग गरि दर्जनौ राउण्ड अश्रुग्यास र रवरका गोली हानेको थियो । प्रहरीको गोलीका ेप्रवाह नगरी प्रदर्शनकारी महानगरभित्र प्रवेश गरेपछि सुरक्षाकर्मी महानगरवाट वाहिरिएका थिए ।

प्रदर्शनकारीले पोखरा महानगरका अधिकांश शहरी क्षेत्रका वडा कार्यालयमा आगजनी गरेका छन् । सरकारी कार्यालय र सरकारी पदाधिकारी बस्ने घर निवासमासमेत उनीहरुले आक्रमण तथा आगजनी गरेका छन् । उनीहरुले पोखरा महानगरपालिका–१, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ लगायतका वडा कार्यालयमा आगजनी गरेका छन् ।
जेनजीको प्रदर्शन नियन्त्रण वाहिर पुगेपछि पोखराका सडकमा प्रहरीको उपस्थिति नै देखिन छाडेको थियो ।
प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय कास्की र लेखनाथस्थित ईलाका प्रशासन कार्यालयमासमेत आगजनी गरेका छन् । उनीहरुले अदालतमा पनि आगजनी गरेका छन् । उच्च अदालत पोखरा र जिल्ला अदालत कास्कीमा पनि उनीहरुले आगजनी गरेका हुन् । उनीहरुले अख्तियार दूरुपयोग तथा अनुसन्धान कार्यालयमासमेत तोडफोड र आगजनी गरेका छन् ।

प्रदर्शनकारीले प्रहरी विट तथा ट्राफिक विटमा पनि आगजनी गरेका छन् । प्रहरी तथा ट्राफिक कम भएका विटहरुमा उनीहरुले आक्रमण गरेर आगजनी तथा तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको न्यूरोडस्थित घर र उनी चढ्ने गाडीमा तोडफोड तथा आगजनी गरेका छन् । प्रदर्शनकारीले पोखराका ४ होटल तथा रिसोर्टमा तोडफोड तथा आगजनी गरे । मन्त्री थापाले सञ्चालन गरेको पोखरा लेकसाईडमा रहेको अंशुवरा होटल, गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले सञ्चालन गरेको होटल गुडविल, गण्डकी प्रदेश सभा सदस्य पम्फा पहारीको परिवारले सञ्चालन गरेको होटल एडम र माओवादी निकट जितु गुरुङले सञ्चालन गरेको बरपिपल रिसोर्टमा आगजनी गरेका हुन् ।

दिनभरजसो तोडफोड र आगजनीमा निर्भयका साथ उभीएका प्रदर्शनकारीले पोखरास्थित नेकपा एमाले कास्की जिल्ला पार्टी कार्यालय र गण्डकी प्रदेश कार्यालय, नेकपा माओवादी केन्द्रको सृजनचोकस्थित पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय गण्डकीमा समेत आगजनी गरे ।

प्रदर्शनकारीले पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यको घर, मेयर आचार्यका भाई शिवराज आचार्यलगायतले सञ्चालन गरेको पोखरा ईभेन्ट सेन्टरमा पनि आगजनी तथा तोडफोड गरेका छन् । उनीहरुले पोखरा सिर्जनाचोकस्थित एनसेलको कार्यालयमासमेत तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

प्रदर्शनकारीले साझपख पोखरा पृथ्वीचोकमा रहेको लखन थापा मगरको शालिक हटाएर पृथ्वीनारायण शाहको फोटो राखेका छन् । दिनभर भएको आगजनी र तोडफोडको एकिन विवरण भने प्राप्त हुन वाँकी नै छ ।