
पोखरा, २३ साउन । पोखरा महानगरपालिका भरिकै ज्येष्ठ नागरिक नगर पिता नन्दलाल दाहालको १०६ वषर्को उमेरमा आज (शुक्रबार) बिहान निधन भएको छ ।
विगत २० वर्षदेखि पोखरा महानगरपालिका वडा नं १७ सीतापाईला स्थित पोखरा वृद्धाश्रममा आश्रित दाहालको १०६ वर्षको उमेरमा आज बिहान १०.३० बजे वृद्धाश्रममा नै निधन भएको पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिनुभयो ।
उहाँको आजै पोखराको दोविल्ला घाटमा अन्त्यष्टि गरिएको छ ।
दाहाललाई गत वर्ष पोखरा महानगरपालिकाले ज्येष्ठ नगर पिताको रुपमा सम्मान गरेको थियो । कास्कीको माछापुच्छ«े गाउँपालिका लाहाचोकमा जन्मनुभएका दाहाल सानै उमेरदेखि बेसहारा अवस्थामा पोखरा महानगरपालिका वडा नं २१ निर्मल पोखरीस्थित अशोक र भरत रायमाझीको परिवारको संरक्षणमा बस्दै आउनुभएकोमा पछिल्लो २० वर्ष यता रायमाझी परिवारकै सहयोगमा दाहाल पोखरा वृद्धाश्रममा बस्दै आउनुभएको अशोक रायमाझीले जानकारी दिनुुभयो ।
अध्यक्ष पराजुलीका अनुसार दाहाल पछिल्लो पाँच दिनदेखि उहाँको स्वास्थ्य अवस्था अत्यन्त कमजोर भएको थियो ।