
पोखरा, ११ साउन । पोखरामा वसेर अमेरिकी डलर र युरोको अवैध कारोबार संचालन गर्दै आएका तीनजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका–४ घर भई हाल पोखरा ६ लेकसाइडमा हिलारी मनी चेन्जर कम्पनी चलाएका ४५ वर्षीय राजकुमार बुढाथोकी, पोखरा–१९ पुरनचौर घर भई लेकसाइडमा सगरमाथा मनी चेन्जर चलाएका ४३ वर्षीय खेमराज पौडेल र रूपन्देहीको सिद्धार्थ नगरपालिका–१३ हाटबजार घर भई पोखरामा रेष्टुरेण्ट व्यवसाय चलाउदै आएका ४५ वर्षीय महुमुद्धिन एम अहमद रहेका छन्।
निज अभियुक्तको साथवाट प्रहरीले १९ हजार ६०० अमेरिकी डलर, ३ हजार २०० युरो र ४३ लाख ७३ हजार ७०० रुपैयाँ नेपाली मुद्रा बरामद गरेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
राष्ट्र बैंक ऐन अनुसार मनी चेन्जर कम्पनीले मुद्रा सटही गर्दा प्राप्त विदेशी मुद्रा बैंकिङ कारोबारमार्फत जम्मा गर्नुपर्ने भए पनि अर्को व्यक्तिलाई बिक्री गरिरहेको भेटिएको एसपी ओलियाले बताए ।
‘राष्ट्र बैंक ऐन अनुसार मनी चेन्जरले आफ्नै खातामा लगेर विदेशी मुद्रा जम्मा गर्नुपर्छ,’ उनले भने, ‘गैरकानूनी रूपमा अर्को व्यक्तिलाई बिक्री गरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं।’
उनीहरूलाई आइतबार नै जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरेको छ । उनीहरू लाई राष्ट्र बैंक ऐन २०५८ विरूद्ध विदेशी मुद्रा कारोबार गरेकाले सोही ऐन वमोजिम विगोको तीन गुणा रकम, सात वर्ष जेल वा दुवै सजाय हुन सक्ने एस पीओलियाले बताए।







