पोखरा, ४ शाउन । मौषम पुर्वानुमान महाशाखाले गत २४ घण्टामा गण्डकी प्रदेशमा कास्कीको लुम्ले र याङजाकोटमा भारि वर्षा मापन भएको जनाएको छ ।
खासगरी कास्कीको लुम्लेमा सबैभन्दा धेरै पानी परेको छ । लुम्लेमा गत २४ घण्टामा १६२.६ मिलिमिटर पानी परेको छ । याम्जाकोटमा १३४ मिलिमिटर वर्षा मापन भएको छ ।
यो सँगै लमजुङका बुझुङ र खुदीबजार अनि पर्वतको पन्चासेमा पनि उच्च् खालको वर्षा भएको छ । नारायणी नदी बेसिन अन्तर्गत पर्वतको मोदी खोला नयाँपुल जल मापन केन्द्रमा बाढी आएको छ ।
यसैगरी तनहुँको भार्षे र रुकुमपूर्वको शेरागाउँमा पनि राम्रै खालको वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गत २४ घण्टामा इलामको माईपोखरी केन्द्रमा १८२.२ मिलिमिटर वर्षामापन भएको छ । इलामका इलाम चियाबगान, कन्याम चियाबगान, जितपुर, हिमाली गाउँमा पनि भारी वर्षा भएको छ भने धनकुटाका त्रिवेणीमा १९५.६ र मझुवाघाटमा १७३ मिलिमिटर वर्षा भएको छ । मधेश प्रदेश र बागमति प्रदेशका जिल्लाहरुमा भने हल्कादेखि मध्यम वर्षा भएको छ । वर्षा सँगै नदी खोलाहरुमा जल सतह वढेकाले सतर्कता अपनाउन वाढी पुर्वानुमान महाशाखाले सवैमा आग्रह गरेको छ ।







