
पोखरा । ईरानका तीनवटा आणविक शक्ति केन्द्रहरुमा हवाई आक्रमण गरेको अमेरिकाले दावी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोष्ट गर्दै ईरानको फोर्डो, नतांज र इस्फहान आणविक केन्द्रमा सफल आक्रमण भएको उल्लेख गरेका छन् ।
‘हामीले इरानका तीनवटा आणविक साइटहरू फोर्डो, नतांज र इस्फहानमा अत्यन्त सफल आक्रमण सम्पन्न गरेका छौं । सबै विमानहरू अहिले इरानको हवाई क्षेत्रमा छैनन्’, उनले भनेका छन् ।
उनका अनुसार फोर्डोमा पूर्ण बम लोड खसालिएको छ र सबै विमान अमेरिका फर्किने क्रममा छन् । यस विषयमा ईरानको भने कुनै प्रतिक्रिया आएको छैन ।
हमलापछि ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् ।
‘म ह्वाइट हाउसबाट इरानमा गरिएको हाम्रो अत्यन्त सफल सैनिक कारबाहीबारे राष्ट्रका नाममा सम्बोधन गर्नेछु । यो अमेरिकाको, इजरायलको र विश्वकै लागि एक ऐतिहासिक क्षण हो । अब इरानले यो युद्ध अन्त्य गर्ने सहमति गर्नैपर्छ’, उनले भनेका छन् ।