
पोखरा,३असार । रुसले युरोपेली देशहरुलाई अमेरिकाको काखे कुकुरको संज्ञा दिएको छ । जी ७ देशहरुको शिखर सम्मेलन चलिरहेकै वेला रुसी पूर्वराष्ट्रपति दिमित्रि मेदभेदेवले युरोपबाट सहभागी ‘म्याक्रोन नेतृत्व’का देशहरुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका काखे कुकुर भन्दै युरोपेली देशहरुको कठोर आलोचना गरेका छन् । मेदभेदेवे अहिले रुसी राष्ट्रपति पुटिन अध्यक्ष भएको रुसी सुरक्षा परिषदका उपप्रमुख समेत हुन् । मेदभेदेवले रुसलाई गालि गर्ने, रुसमा थप नाकाबन्दी लगाउनेदेखि जी ८ बाट रुसलाई आउट गरेर जी ७ बनाएकोमा ट्रम्पले गालि गरेको भन्दै यूरोपेली देशहरु फ्रान्स, बेलायत, जर्मनी, इटालीलाई लक्षित गरेर कटाक्ष गरेका छन् ।
विश्वका सात औद्योगिक देशहरुको एक जमात हो जी ७ जहाँ अमेरिका, क्यानडा, जापान जस्ता तीन गैर यूरोपेली देशहरु तथा फ्रान्स, बेलायत, जर्मनी र इटाली जस्ता चार यूरोपेली देशहरु संगठित छन् । सन २०१४ मार्च २४ मा तत्कालिन जी ८ देशहरुबाट रुसलाई निष्कासन गरिएको थियो ।
यूक्रेनबाट क्राइमिया जनमत संग्रहबाट रुसमा गाभिएपछि रुसलाई पश्चिमा पक्षधर देशहरुले हटाएर जी ७ लाई एकलौटी बनाएका थिए । त्यसयता ट्रम्प कालमा बाहेक धेरैजसो शिखर सम्मेलनहरुले रुसको र पुटिनको कटाक्ष गर्दै आएका थिए ।