गणतन्त्रका नायक प्रचण्डलाई पर्वतामा १८ संघ सस्थाको सामुहीक अभिनन्दन

-


     गण्डकी बहस     
     जेठ १० गते २०८२ मा प्रकाशित


पोखरा, ९ जेठ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पर्वतको कुश्मामा जिल्लाका विभिन्न १८वटा सामाजिक, शैक्षिक, व्यावसायिक र नागरिक संस्थाहरूले संयुक्त अभिनन्दन गरेका छन् ।
जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत पर्वतमा आयोजित जनसंवाद कार्यक्रममा प्रचण्डलाई सामाजिक न्याय, स्वास्थ्य पहुँच, समावेशिता तथा गणतन्त्र स्थापनामा पु¥याएको योगदानको कदर स्वरूप अभिनन्दन पत्र प्रदान गरिएको हो ।
अभिनन्दन पत्रमा प्रचण्डको दीर्घकालीन राजनीतिक सङ्घर्षले गणतान्त्रिक नेपालको आधारशिला तयार पारेको र शान्ति प्रक्रिया, संविधान निर्माण तथा समावेशी लोकतन्त्र संस्थागत गर्न निर्णायक भूमिका खेलेको स्मरण गरिएको छ ।
साथै, प्रदेश अस्पताल–कुश्मालाई भविष्यमा “गणतन्त्रका महान् नेता पुष्पकमल दाहाल प्रचण्ड अनुसन्धान केन्द्र तथा स्वास्थ्य सेवा सेन्टर” को रूपमा विकास गर्ने सपना रहेको उल्लेख गर्दै सो दिशामा प्रचण्डको सहयोग अपेक्षा गरिएको छ ।
अभिनन्दनमा १८ संस्थाहरूमा लायन्स क्लब, रेडक्रस, पत्रकार महासङ्घ, उद्योग वाणिज्य सङ्घ, विभिन्न सहकारी संस्था, महिला र युवा समूह, शैक्षिक संस्था र अन्य सामाजिक सङ्गठनहरूका सदस्यहरू सहभागी थिए ।
अध्यक्ष प्रचण्डले आफूलाई प्रदान गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै प्रदेशस्तरीय स्वास्थ्य पूर्वाधार सुदृढ गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।