
पोखरा, ९ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संघिय लोकतान्त्रीक गणतन्त्रका लागि लडेका राजनीतिक दलहरु जीवित रहेसम्म राजतन्त्र फर्कन नसक्ने वताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको शुक्रवार पोखरामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरेका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कने जस्ता हल्ला फिँजाएको उल्ल्लेख गर्दै उनले भने, ’पूर्व राजाको कुण्डली मात्रै हेरेर हुँदैन, जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न। नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न। राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गछु ।’ प्रधानमन्त्री ओलीले
जनताको हक अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताए ।
उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरूसँग सम्झौता नगर्ने भने भए भाग्नका लागि हेलिकप्टरको व्यवस्था गरिदिने भन्दै दिएको अभिव्यक्तिप्रति जवाफ फर्काए।
’प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन्। म भन्न चाहान्छु, कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ। त्यस्ता प्रयास रोक्ने अग्रभागमा युवा संघ आउनुपर्छ। कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ। तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु,’ उनले भने, ’एमालेमाथि आन्तरिक र बाह्य पक्षहरू तथा विरोधीहरूको केन्द्रीकृत र चौतर्फी आक्रमण गरेका छन्। एमालेले गल्ती गरेको भए अहिले हामी जुन ठाउँमा छौँ। त्यस ठाउँमा आउन दिने थिएनन्। हामी सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी हो। एमालेको पक्षमा बोल्दा झोले भनेर हहतोत्साहित गर्नेहरूको भ्रम र अन्योलमा नपरी आफ्ना कर्तव्य पूरा गर्न म आग्रह गर्दछु।’







