
टर्कीको स्तानबुलमा हुने रुस र युक्रेनबीचको शान्ति वार्तामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । बिहीबारदेखि हुने वार्तामा भाग लिने व्यक्तिहरूको सूचीमा राष्ट्रपति भ्लादिमिर पुटिनको नाम नरहेको बीबीसीले जनाएको छ ।
रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्नेबारे आजदेखि शान्ति वार्ता शुरू हुँदै छ । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई वार्तामा सहभागी हुन आह्वान गरेका थिए ।
वार्ताबारे रुसले जारी गरेको वक्तव्यमा रूसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्कीले गर्नेछन् ।
यसअघि जेलेन्स्कीले रूसी राष्ट्रपतिले सहमति जनाएमा उनी वार्तामा सहभागी हुने र पुटिनसँग आमने–सामने भेट्ने बताएका थिए । उनले सो भेटघाट सुनिश्चित गर्न सबै सम्भव प्रयास गर्ने पनि बताएका थिए ।
पुटिन र जेलेन्स्की सन् २०१९ डिसेम्बरपछि आमने–सामने भेटेका छैनन् । रूस र युक्रेनले यसअघि मार्च २०२२ मा इस्तानबुलमा प्रत्यक्ष वार्ता गरेका थिए ।







