पोखरा, ११ साउन । पोखरा महानगरपालिका वडा नं २८ भित्र रहेका अधिकाम्स व्यापार व्यवसाय दर्ता नै नगरी संचालनमा रहेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आज विहिवार गरेको अनुगमनका क्रममा किराना पसल, फेन्सी पसल एवं अन्य पसलहरु व्यवसाय संचालनको प्रमाणपत्र नलिईकन संचालन गरेको पाईएको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका कर्मचारी चेतराज आचार्यको नेतृत्वमा भएको अनुगमन टोलीमा वडा नं २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने, सामुदायीक सेवा केन्द्र कास्कीका उपाध्यक्ष विष्णु सुवेदी, पोखरा महानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय कास्की, र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधिहरु सहभागि थिए । वडा नं २८ को कालिका वजार, ओख्ले, सौरे रैकर लगाएतका स्थानमा अनुगमन टोली पुगेको थियो ।
अनुगमन टोलीले धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागी वडामा संचालित विद्यालयका एक सय मिटर वरपरका २४ वटा व्यवसायको अनुगमन गरेको थियो । सो अवसरमा विद्यालय क्षेत्र देखी एक सय मिमटर वरपर संचालित पसलहरुमा सुर्तीजन्य पदार्थ विक्रिवितरण गरेको पाईएका पसलहरुलाई पहिलोपटकका लागी सचेत गराउदै आगामी दिनमा विक्रीवितरण नगर्ने र दर्ता नगरी संचालनमा रहेका व्यवसायलाई संवन्धीत निकायमा दर्ता गरेर मात्र संचालन गर्न निर्देशन दिईएको जिल्ला प्रशासनका कर्मचारी चेतराज आचार्यले जानकारी दिनुभयो ।