पोखरा २३ बैशाख । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड शनिबार पोखरामा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको पुरस्कार फुटबलकी सावित्रा भण्डारीले हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड कार्यक्रम अन्तरगत यो विधामा केसी सँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका थिए् । यसैगरी वर्ष उत्कृष्ट खेलाडी महिला तर्फ भण्डारीसँगै आर्चरीकी रोजीना थापा मगर, र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर परेका थिए ।
अवार्ड अन्र्तगत उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी सवोत्कृष्ट ठहरिए । यो विधामा भण्डारीसँगै भलिवलका रवि केसी र फुटवलका सुमित श्रेष्ठ मनोनयनमा परेका थिए । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङले बाजी मारें । यो विधामा गुरुङसँगै लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार मनोनयनमा परेका थिए ।
वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारें ।
वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरें । सबै विधामा उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियो ।
यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गरियो । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिएको हो । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई प्रदान गरियो । वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई दिइयो । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी हात पारें ।
उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलला घिसिङ, मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, प्रतिनिधि सभा सदस्य विद्या भट्टराई, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापा, प्रदेश सभा सदस्य प्रकाश बराल, सरस्वती गुरुङ लगायतले अवार्ड हस्तान्तरण गरें ।
अवार्ड वितरण गर्न मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा छनोट समिति निर्माण गरिएको थियो । जसको सदस्यमा मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने, मञ्चका सदस्यहरु सागरराज तिमिल्सिना, रोहितराज पराजुली र विजय नेपाली सदस्य रहेका थिए । यसैगरी उत्कृष्ट खेल पत्रकार छनोट समितिको संयोजकमा मञ्चका पूर्व सल्लाहकार सन्देश श्रेष्ठ रहेका थिए । यो समितिको सदस्यमा पत्रकार महासंघ गण्डकी प्रदेश, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, मञ्चका पूर्व अध्यक्ष केशव पाठक, मञ्चका सदस्य उमेश पुन सदस्य रहेका थिए । दुवै समितिको पदेन सदस्यमा मञ्चका अध्यक्ष दीननाथ बराल र महासचिव राजाराम पौडेल रहेका थिए ।
यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरियो ।
मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले बोलका थिए । मञ्चले २०७२ सालदेखि निरन्तर अवार्ड कार्यक्रको आयोजना गर्दै आएको छ ।