
पोखरा, ९ वैशाख । प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसक्दा शनिवार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् ।
विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमालेका २२ र राप्रपाका २ गरी २४ मत मात्र पाए । गण्डकी प्रदेश सभामा ६० सदस्य रहेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका अधिकारी करिब साढे ३ महिना पदमा रहे ।
मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात् दिपक मनाङेले अधिकारीलाई मत दिएनन् ।
सत्तागठवन्धनको सहयात्री नेकपा माओवादी केन्द्रले चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता उत्पन्न भएको थियो ।
आईतवार सम्ममा नयाँ सरकार– कांग्रेस नेता पाण्डे
गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले भोलि आईतवारसम्म नयाँ सरकार बन्ने बताएका छन् ।
शनिबार प्रदेशसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले प्रदेश प्रमुखले छिटै सरकार गठनको आह्वान गर्ने र आइतबारसम्म नयाँ सरकार बन्ने बताएका हुन् । ‘प्रदेश प्रमुखले संविधान अनुसार सरकार गठनको आह्वान गर्नुहुन्छ, दोस्रो कुरा भनेको गठबन्धन दलहरुबीचको सहमतिको कुरा हो’ उनले भने । कहिलेसम्म नयाँ सरकार बन्छ भन्ने प्रश्नमा उनले भने, ‘मलाइ लाग्छ, भोलिसम्म बन्छ ।’
अब संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको सहमतिमा मिलिजुली सरकार बन्छ कि १६८ (३) अनुसार ठूलो दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्छन् भन्ने अन्योल छ ।
यससम्बन्धी प्रश्नमा पाण्डेले भने, ‘१६८ को धारा २, ३, ४ तिर म जान्न । प्रदेश प्रमुखले संविधान पढ्नुहुन्छ, उहाँले जे आह्वान गर्नुहुन्छ, त्यही अनुसार अगाडि बढ्छौं ।’ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउँदैछन् ।