
पोखरा, ३० चैत । सांसद ढाकाप्रसाद श्रेष्ठले अमुक व्यक्तिसँग पैसा मागेको अडियो सार्वजनिक हुनासाथ रास्वपा सभापति रवि लामिछानेले कारवाही गरेर ऐतिहासिक निर्णय लिएको बताएका छन् ।
पार्टी गठन भएको ९ महिनामै ७० वर्ष पुराना पार्टीले भन्दा बढी बार र तगारो बेहोर्नुपरेको उनले बताए ।
तनहुँ १ मा रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको प्रचार कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै लामिछानेले इमानको राजनीतिलाई कुनै सम्झौता नगर्ने कडी बनाएको दाबी गरेका हुन् ।
‘कुनै प्रमाणित कुरा थिएन, जहाँ घुस लेनदेन भएको कही कतै प्रमाणित थिएन, घुसको लेनदेन भएको छैन, पैसाको कारोवार भएको छैन । तर, हाम्रा सांसदले कुनै अमुक व्यक्तिसँग मन्त्री बन्नका लागि डिल गरेको अडियो सार्वजनिक भएको हो । पैसाको डिल भएको हो÷होइन त्यसमा भन्न सकिने अवस्था थिएन । तर एउटा सार्वजनिक पद हासिल गरेको मान्छेले कुनै व्यक्तिसँग पैसा लेऊ भन्नु आफैमा नैतिकताको ठूलो संकट सोचेर हामीले ऐतिहासिक निर्णय गरेका छौं’, लामिछानेले भने ।
मन्त्री बन्न विवादास्पद व्यापारी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो बाहिरिएपछि श्रेष्ठलाई रास्वपाले बुधवार पार्टीबाट निकालेको थियो ।