व्यापार प्रवर्दनका लागि वुद्ध विशाल वजार पोखराद्वारा उपहार कार्यक्रम संचालनमा

-


     गण्डकी बहस     
     असार २९ गते २०७९ मा प्रकाशित


पोखरा,२९ असार । व्यवसायीक हकहितका लागि स्थापित बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले व्यवसाय प्रवद्र्धनका लागि उपहार कार्यक्रम संचालनमा ल्याएको छ । चाडपर्वलाई लक्षित गरी ल्याईएको उपहार कार्यक्रम साउन १ गतेदेखि पाँच महिनासम्म सञ्चालन हुने एसोसिएसनले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
एसोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीले उपहार कार्यक्रममा प्रथम पुरस्कार स्कुटर, दोस्रो उपहार ४३ इन्चको स्मार्ट टेलिभिजन र तृतीय पुरस्कार स्मार्ट फोन १५ हजार बराबरको ३ जनालाई प्रदान गरिने जानकारी दिए । उनका अनुसार बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन भित्रका कुनै पनि पसलबाट ५ सयको समान खरिद गर्दा एउटा उपहार कुपन र १५ सय भन्दा बढीको खरिद गर्दा २ वटा उपहार कुपन उपलब्ध गराइनेछ । मासिक विशेष उपहार सपिङ भौचर ५ हजार बराबरको ४ जनालाई लक्की ड्र मार्फत् उपलब्ध गराइने र महिनाको अन्तिम बुधबार खोलिने संस्थाका कोषाध्यक्ष तथा उपहार कार्यक्रम संयोजक थमनसिंह गुरुङले जानकारी दिए ।

बजार एसोसिएसनका मानार्थ सदस्य तथा सल्लाहाकार सुदीप ढकालले २० वर्ष अघि उपहार कार्यक्रम सुरु गरिएको र यो प्रभावकारी रहेको बताए । संस्थाका महासचिव बुद्धिबहादुर कुँवरले उपहार कुपन प्रत्येक सटरलाई १ सयको ४ वटा पेटी उपलब्ध गराइने र त्यस वापत एसोसिएसनले एउटा पेटीको १ हजार शुल्क लिने गरेको बताउँदै त्यो रकम र अन्य नवीकरण शुल्कबाट उपहार कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार एसोसिएसनले ३ जना छात्रछात्रालाई छात्रवृत्ति समेत उपलब्ध गराएको छ ।
२ सय ४० सटर रहेको बुद्ध विशाल बजारमा फेन्सी, कष्मेटिक लगागतका सामान खरिद र बिक्री हुने गरेको छ । उत्तरी छिमेकी देश चीनतर्फका नाका सञ्चानमा नआउँदा सामान ल्याउन समस्या भएको र ढुवानी खर्च बढेको अध्यक्ष खत्रीले बताए । खत्रीका अनुसार बजार भित्रका पसलबाट करिब ३ हजार ५ सय प्रत्यक्ष रुपमा लाभाम्वित भएको बताए । कोरोना अघि र अहिलेको खरिद मूल्य दोब्बर नै वृद्धि भएको उनको भनाइ छ । विदेशी सामान ल्याउँदा प्राविधिक र कानुनी समस्या समते रहेको बताउँदै खत्रीले सहजताको लागि राज्यले पहल गर्नुपर्ने बताए ।
बुद्ध विशाल बजार भित्र सिनेमा हल सञ्चालनको लागि योजना बनाएर तयारी थालिएको छ । आगमी एक वर्ष भित्र हललाई सञ्चालनमा ल्याउने गरी यो कामलाई पूरा गर्नका लागि एसोसिएसनका प्रवक्ता मनोहरि पौडेलले जिम्मेवारी दिइएको अध्यक्ष खत्रीले बताए ।
प्रवक्ता पौडेलले करिब २ सय जना दर्शक अट्न सक्ने सिनेमा हल निर्माणको लागि अध्ययन भइरहेको बताए । उनका अनुसार उपभोक्तालाई आकर्षित गर्नका लागि हल सञ्चालनको योजना बनाइएको हो । पत्रकार सम्मेलनमा पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सेनाले पनि बोलेका थिए ।