खेलाडीले प्राप्त गर्ने सफलता नै प्रदेश सरकारको मापन – मुख्य मन्त्री पोखरेल

-


     गण्डकी बहस     
     असार २६ गते २०७९ मा प्रकाशित


गणेश वहादुर वानिया । पोखरा २६ असार । खेलाडीले प्राप्त गर्ने सफलता नै गण्डकी प्रदेश सरकारको मापन भएको वताउदै गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले खेलाडीहरुलाई उच्च मनोबल र उत्साहका साथ प्रतिष्पर्धा गर्न आग्रह गरेका छन् ।

काठमाडौंमा आयोजना हुने राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डमा सहभागि हुन जाने गण्डकी प्रदेशका खेलाडीहरुलाई विदाई गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

खेलकुदको विकासका लागि तिनै तहको सरकारले उत्तिकै महत्वका साथ अघि बढाएको बताउँदै गण्डकी प्रदेश खेलकुद परिषदका संरक्षक समेत रहेका मुख्य मन्त्री पोखरेलले खेलाडीहरुलाई थप हौसला प्रदान गरे । उनले भने–“भोलीको अन्तर्राष्ट्रिय खेलाडीको रुपमा समेत यहाँहरुनै अघि बढ्ने हो, प्रदेशको होस वा राष्ट्रको गौरव बढाउने काम भनेको खेलाडी र खेल क्षेत्र बाट हो । यहाहरुवाटै त्यो सम्भव छ ।”

पोखरामा नवौं राष्ट्रिय खेलकुद हुने भएकोले यो प्रतियोगितामा प्राप्त हुने सफलताले प्रत्येक प्रदेशवाशीको सफलता र खेल जगतको सफलता गाँसिएको छ ,तपाईहरुले पदक जितेर आउनेमा म पूर्ण विश्वस्त छु उनले भने । । सिमित स्रोत र साधानका बावजुद खेलकुद परिषदले तयारी गरेको भन्दै आभार व्यक्त गरे ।

विदाई कार्यक्रममा मुख्यमन्त्री पोखरेले नेपाली राष्ट्रिय झण्डा र परिषदको लोगो अंकित झण्डा गण्डकी प्रदेशका टिम लिडर तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङलाई हस्तान्तरण गरेका थिए ।

काठमाडौमा यहि असार २८ देखि ३० गते सम्म आयोजना हुने राष्ट्रपति रनिङ शिल्डमा विभिन्न ६ खेलमा ९४ जना खेलाडीहरुले सभागिता जनाउने छन् । उक्त प्रतियोगितामा छात्ररछात्रा एथलेटिक्स भलिबल, कब्बडी, तेक्वान्दो, कराँते र उशुका खेल हुनेछन् ।