लेखनाथ र पोखरालाई जोड्ने गरी योजना ल्याइन्छः थापा

-


     गण्डकी बहस     
     वैशाख १८ गते २०७९ मा प्रकाशित


लेखनाथ, वैशाख १८ ।
पोखरा महानगरपालिकाका प्रमुख, उपप्रमुख सहितका उम्मेदवारसहित नेकपा एमालेले पोखरा महानगरपालिकाको वडा नं. २७ मा आइतबार चुनावी सभा सम्पन्न गरेको छ ।
सभालाई सम्वोधन गर्दै नेकपा एमाले पोखरा महानगरका प्रमुखका उम्मेदवार कृष्णबहादुर थापाले निर्वाचनमा गरिएका प्रतिवद्धता अक्षरस पालन गर्ने बताएका छन् । थापाले व्यक्तिगत सुविधा र सुःखका लागि एमालेका उमेद्वारले चुनाव नलडेको भन्दै, ५ वर्षको समय खटेर जनताको काम गर्ने उल्लेख गरे थिए ।
मेयरका प्रत्यासी थापाले प्रतिवद्धता पत्रमा साविक लेखनाथको विकासका लागि राम्रो योजना बनाइएको उल्लेख गर्दै पोखरा र लेखनाथका जनताले अनुभूति गर्ने गरी काम हुनेमा विश्वस्त हुन आग्रह गरेका छन् । उनले अघिल्लो चुनावमा कांग्रेसले जितेको वडा नं. २७ मा यसपटक सुर्यध्वजावाहक उम्मेदवारले विजयी हासिल गर्ने दावी गरे । वडा नंं २७ मा एमालेले जुझारु उमेद्वार उठाएकाले वडावासीले अत्याधिक मत दिने विश्वास व्यक्त गरेका छन् । उनले बजेट र राजनीतिमा वडा नं. २७ कहिल्यै उपेक्षित नहुने पनि प्रतिवद्धता व्यक्त गरे ।
उपप्रमुखका उम्मेदवार मञ्जुदेवी गुरुङले अघिल्लो चुनावमा लेखनाथवासीले दिएको मतबाट विजयी हासिल गरेको उल्लेख गर्दै यसपटक विगतको अनुभवले अझ विकसित बनाउने गरी योजना ल्याएको उल्लेख गरेकी छिन् । गुरुङ समुदायको बस्ती रहेको रिठ्ठेपानीमा उच्च सोच रहेको उल्लेख गर्दै, सबल र सक्षम नेतृत्वका लागि मत दिन आग्रह उनले गरिन् । वडावासी कसैको दास नभएको उल्लेख गर्दै उनले आफ्नो विचारको मालिक आफैं भएकाले मतदानको समयमा विवेक प्रयोग गर्न समेत आग्रह गरेकी छिन् ।
नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले वडा नंं २७ को विजय यात्रा कसैले रोक्न नसक्ने उल्लेख गर्दै प्रगतिशील समुहको मतको सुरक्षा गर्न आग्रह गरेका छन् ।
नेकपा एमाले वडा नं. २७ का उम्मेदवार सुर्यमणि लामिछानेले वडाको विकासका लागि कुनै कसर बाँकी नराख्ने उल्लेख गरे । गुरुङले सीप र रोजगारको व्यवस्था, कृर्षिमा आधुनिकीकरण र मानवीय संसाधनको विकासमा आफूले जोड दिने उल्लेख गरेका छन् । राजनीतिक आस्थाका आधारमा विकासको विभेद नगरिने उल्लेख गर्दै उम्मेदवार लामिछानेले काग्रेसको ५ वर्षे शासनमा विभेद भएको बताए ।
कार्यक्रममा कलाकार शिवहरि ढुंगानाले गीत–संगीत प्रस्तुत गरेका थिए । वडा नं. २७ को अर्चलेदेखि सुरु भएको उमेद्वार सहितको ¥याली अर्घौंबेसी, कालीगण्डकी, डाँडानाक, साविक नगरपालिका, तालचोक, डाँडाको नाक राजमार्ग, आवास नगर, अर्घौंचोक हुँदै रिठ्ठेपानीमा पुगेर चुनावी सभामा परिणत भएको थियो ।
यसअघि आज बिहान उमेद्वारले अर्घौं अर्चलेमा घरदैलो कार्यक्रमको आयोजना गरेका थिए । कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलबाट सुरु भएको घरदैलो कार्यक्रम अर्घौंबेशीमा पुगेर समापन भएको थियो । यसपटक वडा नं. २७ मा जनताले परिवर्तन खोजेको घरदैलोको बेलामा प्रतिक्रिया पाएको चुनाव परिचालन कमिटीका संयोजक गणेशराज धमलाले बताएका छन् । ।