
पोखरा ३० चैत । भौगोलीक रुपले देशकै ठूलो पोखरा महानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेवाट १२ जनाले आकांक्षा देखाएका छन् । एमाले पोखरा महानगर कमिटिले मंगलबार बसेकोे बैठकमा पोखरा महानगरपालिकाका मेयर र उपमेयरको नाम संकलन गरेको थियो । गण्डकी प्रदेश सांसददेखी वडा अध्यक्षसम्म १२ जनाले मयेरका लागि नाम दर्ता गराएका हुन् । तर हालका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले भने आगामी कार्यकालका लागि कुनै पनि पदमा दावी गरेनन् ।
मेयर पदका आकांक्षीहरुले तीन हजार रुपैयाँ तिरेर मनोनयन दर्ता गराएका छन् । मेयरका लागि दुई पुरुष र एक महिलाको नाम पार्टी केन्द्रीय कमिटीमा सिफारिस हुनेछ ।
मेयरको आकांक्षीहरुमा प्रदेश सांसद कृष्णबहादुर थापा, प्रदेश सांसद राजीव पहारी, प्रा। डा। विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मिनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा रहेका छन् । प्रदेशसभा सदस्य कृष्ण थापा पोखराका पूर्वमेयर हुन् ।
पोखराको उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पँगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका प्रहारी, जीवनप्रसाद आचार्य, बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेलले बैठकमा उम्मेदवारी दर्ता गरेका छन् ।
आकांक्षीहरुबीच सहमतिको प्रयास गर्ने र सहमति नभए मतदानबाट मेयरका लागी ३ जनाको नाम छनोट गरी केन्द्रीय कमिटीलाई सिफारिस गर्ने महानगरपालिका कमिटीका सचिवालय सदस्य चेतन कार्कीले जानकारी दिए ।









