ब्याजदरमा बैंकहरूकाे चर्काे प्रतिस्पर्धा, मुद्दति निक्षेपमा दिए ११.६७ प्रतिशतसम्म ब्याज

-


     गण्डकी बहस     
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


काठमाडौं, १ कार्तिक। नेपाली बित्तिय बजारमा अहिले निक्षेपमा कसले बढी ब्याज दिने भन्ने प्रतिस्पर्धा चलेकाे छ । हिजाे र आज प्रकाशित बैकहरूकाे इन्ट्रेष्ट रेटकाे सूचनामा यस किसिमकाे प्रतिस्पर्धा देखिएकाे हाे । अहिले बैंकहरूमा देखिएकाे ब्याजदरकाे चर्काे प्रतिस्पर्धा हेर्दा आफ्नो भएकाे निक्षेप जोगाउन र अर्को बैंकको तान्नका लागि ब्याज बढाएकाे स्पष्ट देखिएकाे एक बैंकरले सफल आवाजलाइ बताए ।

नेपाल बैंकर्स संघको आइतबारकाे बैठकमा अध्यक्ष भुवन दहालले राष्ट्र बैंकको आग्रहलाइ मान्न बैंकरहरूलाइ अनुराेध गरेका थिए । ब्याज बढाएकै भरमा निक्षेप नआउने भन्दै ब्याजदर बढाउने बिषयमा एग्रेसिभ नबन्न समेत सम्झाएका थिए । ब्याजदर के गर्ने भन्ने बिषयमा साे बैठकमा काेही पनि बाेलेनन्। तर एकाएक आज प्रकाशित ब्याजदरका सूचना अप्रत्याशित देखिए । आइतबार ७ वटा बैंकले परिबर्तित ब्याजदर प्रकाशित गरिसकेका थिए। त्यसमा केही बैकले घटाएर समेत प्रकाशित गरेका थिए। बाकी बैकले आज सूचना निकालेका हुन।

उता असोजमै मुद्दति निक्षेपको ब्याजदर दोहोरो अंकमा पुगेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कात्तिक महिनामा बजारमा असर पुग्नेगरी ब्याज नबढाउन बैंकहरूलाइ आग्रह गरेका थिए। नियमन निकायका प्रमुख गभर्नरकाे उक्त निर्देशनलाइ समेत बैकहरूले मानेकाे पाइएन।

आज सोमबार भने अवस्था नितान्त फरक दिशामा माेडियाे । ब्याजकाे प्रतिस्पर्धामा हिमालयन बैंक लिमिटेड अगाडि देखियाे । हिमालयनले मुद्दतिको ब्याजदर ३.१७ प्रतिशतले बढाएर ११.६७ प्रतिशत पुर्याएको नाेटिस छापेकाे छ। 

हिमालयन बैंकपछि एनआइसी एसिया बैंकले ब्याज बढी दिएकाे छ। एनआइसीले ८.६ प्रतिशतको मुद्दतिकाे ब्याजलाई ११.१ प्रतिशत पुर्याएको छ। एनआइसीकाे बचतको ब्याज समेत ८.१ प्रतिशतमा पुगेको छ। लक्ष्मी बैंकले पनि ९ प्रतिशतको ब्याजलाई ११.०५ प्रतिशत पुर्याएको छ।

असोजमा आक्रमक रहेको सनराइज बैंकले ब्याज दर घटाएको छ। सनराइजले १०.०७ प्रतिशतको मुद्दतिको ब्याज ९ प्रतिशतमा झारेको छ। नबिल बैक, नेपाल इन्भेष्टमेन्ट बैक, प्रभु बैक, स्टाण्डर्ड चार्टर्ड बैंकले पुरानाे ब्याजलाई निरन्तरता दिएका छन्। सानिमा बैंकले ९.५१ प्रतिशतको ब्याजलाई ८.५१ प्रतिशतमा घटाएको छ।

क बर्गका बैकसंगै ख र ग बर्गका बित्तिय संस्थाले पनि बचतकाे ब्याज बढाएका छन । सांग्रिला डेभलपमेन्ट बैक, गरिमा बिकास बैक, मुक्तिनाथ बिकास बैक लगायतले मुद्दतिमा १0.६१ प्रतिशत सम्म ब्याज दिने भएका छन भने बचतमा समेत ब्याज बढाएका छन । पाेखरा फाइनान्स, प्राेग्रेसिभ फाइनान्स, बेष्ट फाइनान्स लगायतले पनि मुद्दतिमा १0.७५ प्रतिशतसम्म ब्याजदर बढाएका छन ।

बचतकाे ब्याज बढ्नुकाे कारण

बैंकहरुले अस्वभाविक रूपमा बढाएको ऋणले तरलता अभाव भइ ब्याज बढाउनु परेको बैकरहरू बताउछन। नयाँ नियम अनुसार ऋण बढाँउदा निक्षेप बृद्धि गर्नुपर्ने नियम छ। तर यसतिर बैकहरूले ध्यान दिएकाे पाइएन । । असोज महिनाको तुलनामा कात्तिकमा बचतमा ब्याज बढाउने बैंकहरु तरलताको चरम अभावमा थिए वा सिडीरेसियो ९० प्रतिशतभन्दा माथि पुगेको थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । कतिपय बैकहरूले राष्ट्र बैंकको सापटी चलाएर पनि रिक्समा ब्यापार गरिरहेका थिए। 

अब निक्षेपको ब्याज बढेपछि ऋणको ब्याज पनि स्वत बृद्धि हुन्छ। नयाँ ऋण महँगो पर्ने र पुरानो ऋणको पनि ब्याज बढ्ने हुदा ग्राहकहरू मर्कामा पर्ने देखिन्छ । याे अवस्थामा नयाँ कर्जाकाे ब्यापार समेत नबढ्ने हुदाँ केन्द्रीय बैकले यसतर्फ समयमै साेचेर बैकहरूलाइ निश्चित परिधिमा रहेर बित्तिय काराेबार गर्न निर्देशित गर्नुपर्ने देखिन्छ ।