
पोखरा, २६ चैत । ट्राफिक नियमवारे सवारी चालकलाई जानकारी नहुँने र जानकारी भएपनि नियम पालना नगर्दा सडक दुर्घटना हुने गरेको भन्दै जिल्ला ट्राफिक कार्यालय कास्कीले यातायात मजदुरका लागी एक हप्तासम्म मजदुर प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।
पोखरा यातायात प्रालिको सहकार्यमा ट्राफिक प्रहरीले संचालन गरेको उक्त कार्यक्रममा प्रालिमा आवद्ध ३ सय ५० वटा वसका चालक र सहचालक गरी सात सय मजदुरहरु प्रशिक्षित भएका छन् ।
सवारी चालकले सडक लेनको पालना नगर्दा दुर्घटना हुने गरेकाले प्रशिक्षण पश्चात सडक दुर्घटनामा न्युनिकरण हुने विश्वास जिल्ला ट्राफिक कार्यालयले लिएको छ ।
लेन अनुशासनको पालना, यात्रुसँग कस्तो व्यवहार कसरी गर्ने, चालकले मोवाईल फोन प्रयोग गर्दा हुन सक्ने संभावित जोखिम, अन्य सवारी साधनलाई वाटो नछोडिदिंदा हुन सक्ने दुर्घटना र चालकको काम कर्तव्य र अधिकार वारे वरिष्ठ प्रहरी सहायक निरिक्षकद्वय शिव पाठक र प्रविण आचार्यले जानकारी दिए ।
प्रशिक्षार्थीहरुलाई वरिष्ठ सई होत वहादुर रोक्काले लागु औषध सम्वन्धी, नागरिक अगुवा राम वहादुर पौडेलले नागरिकका गुनासा र अपेक्षा सम्वन्धमा, प्रालिका अध्यक्ष देउ प्रसाद गुरुङ र प्रालिका पदाधिकारी देवि कुँईकेल र सुर्य गुरुङले कंपनीको नीति नियम सम्वन्धमा, कार्यालयका प्रमुख एवं अधिवक्ता जीवन प्रसाद पौडेलले कानूनी साक्षरता सम्वन्धमा सहजिकरण गरेका थिए ।









