पोखरा महानगरको आगामी वजेट ७ अर्व १५ करोड, आन्तरिक आम्दानी २ अर्ब २७ करोड ८७ लाख हुने अनुमान

-


     गण्डकी बहस     
     असार ११ गते २०८० मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको १३ औं नगरसभामा आईतबार उप–प्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षका लागी उक्त वजेट प्रस्तुत गरेकी हुन् । जुन चालु आ.व.को भन्दा १ अर्ब ६२ करोड ६० लाख रुपैयाँ कमी हो । चालु आर्थिक वर्षमा पोखरा महानगरपालिकाको बजेट ८ अर्ब, ७७ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
महानगरको आईतबार प्रस्तुत बजेटमध्ये सङ्घीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकारको अनुदानबाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आम्दानीबाट २ अर्ब २७ करोड ८७ लाख हुने जनाइएको छ । त्यस्तै, संघीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख, प्रदेश राजस्व बाँडफाँटबाट ८ करोड २५ लाख रुपैयाँ स्रोत व्यवस्था हुने उपप्रमुख गुरुङले बताईन् । उनका अनुसार महानगरले स्थानिय राजश्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख, संघीय सरकार सहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१ हजार व्यहोरिनेछ ।
पोखरा महानगरले पूर्वाधार विकासमा २ अर्ब ७० करोड, सामाजिक विकासमा ६ करोड ५० लाख, नगर कार्यपालिकाको कार्यालय व्यवस्थापनका लागि ८१ करोड २२ लाख २६ हजार, वडाहरूका लागि ७२ करोड ६० लाख, स्वास्थ्यमा १० करोड, शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा प्रतिष्ठान सम्बन्धी कार्यक्रम सञ्चालन गर्न १८ करोड, पर्यटन, सहरी विकास तथा वातावरणतर्फ ७० करोड विनियोजन गरेको छ । महानगरले संघीय सशर्त अनुदानतर्फ २ अर्ब २३ करोड ६२ लाख र प्रदेश सशर्त अनुदानतर्फ ८० लाख तथा सहरी विकास आयोजनामा ८ करोड ४० लाख ९१ हजार रुपैयाँ विनियोजन गरेको छ ।
महानगरले एक घर एक धारा खानेपानी आयोजना अन्तर्गत सराङ्कोट, थाक, कृस्ती निर्मलपोखरी भरतपोखरी, चैनपुर, ओख्ले लगायतका खानेपानी आयोजनाको निर्माण तथा मर्मत सम्भारको लागि रु. १० करोड छुट्याएको छ ।
पोखरा महानगरपालिकाले आर्थिक विकासतर्फ कृषि उत्पादन सामग्री र यन्त्र उपकरण वितरण गर्दा प्राथमिकताका आधारमा लगानी परिचालन गर्न उत्पादनको आधारमा कम्तीमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा वर्गिकृत भूमिलाई दिने जनाइएको छ । कृषि एम्वुलेन्सको प्रभावकारी सञ्चालन गर्ने, किसान हाटबजार निर्माण, मेला, महोत्सव प्रवद्र्धन गर्नका लागि १ करोड ६ लाख विनियोजन गरेको छ ।
महानगरपालिकाले सहकारी संस्थाहरुबाट ऋण लिएर चुक्ता नगर्ने व्यक्तिहरुको विवरण वेवसाईटमा प्रकाशन गर्नुका साथै त्यस्ता व्यक्तिहरुलाई महानगरबाट प्रदान गरिने सेवा सुविधा रोक्का गर्न कानूनी व्यवस्था मिलाउने, सहकारीको मूल्य मान्यता विपरित सञ्चालित सहकारीलाई कारवाहीको दायरामा ल्याई सर्वसाधारणको बचत सुरक्षा गर्न आवश्यक व्यवस्था मिलाउने भएको छ ।
महानगरले विद्यार्थीको दिवा खाजाका लागि २५ रुपैयाँ पु¥याएर सोका लागि ४ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । आफैले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि ३ करोड ३३ लाख रुपैयाँ, छात्राहरुलाई विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरणका लागी १ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरी खेलकुद पूर्वाधार निर्माण र प्रवद्र्धनका लाग १ करोड २५ लाख रुपैयाँ, निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्थाका लागि १६ करोड ५० लाख, ९८ प्रकारका निःशुल्क औषधी वितरणका लागि समेत आवश्यक बजेट विनियोजन गरिएको उपपप्रमुख गुरुङले बताईन् ।