नेपालका ओलम्पियनहरुको पोखरामा जेठ तेश्रो साता पुनर्मिलन हुने

-


     गण्डकी बहस     
     जेठ १ गते २०८० मा प्रकाशित


पोखरा १, जेठ । गण्डकी प्रदेशको राजधानि पोखरामा यही जेठको तेश्रो साता नेपालका ओलम्पियनहरुको भेटघाट तथा पुनर्मिलन हुने भएको छ । नेपाल ओलम्पियन्स संघको आयोजनामा पोखरामा उक्त कार्यक्रम यही जेठ १९ देखि २१ गतेसम्म ऐतिहासिक रुपमा हुने तयारी गरिएको संघका अध्यक्ष एवं ओलम्पियन दीपक विष्टले बताए ।
सन् १९६४ देखि पछिल्लो २०२० जापानमा आयोजना भएको ओलिम्पिक खेलमा सहभागि नेपाली ओलम्पियन खेलाडीहरुको एकै स्थानमा पहिलो पटक भेटघाट तथा पुनर्मिलन हुने व्यबस्था मिलाएको अध्यक्ष विष्टले बताए । जापानमा भएको सन् १९६४ देखि नेपालले ओलिम्पकमा सहभागिता हुन सुरु गरेको हो ।


छ दशकको अन्तरालमा करिब ८५ जना नेपालबाट सहभागि भएका ओलम्पियनहरु मध्य हालसम्म १० जनाको निधन भएको छ भने करिब २० जना जसो विदेशमा रहेका छन भने बाँकी नेपालमै भएकोले उनीहरुको सहभागिता हुने भएको विष्टले जनाए । विदेशमा रहेकाहरु मध्य केही उक्त कार्यक्रममा आउने भएकोले करिब पोखरामा ५० देखि ५५ जनासम्म नेपालका ओलम्पियनहरु एकै थलोमा जम्मा हुने ऐतिहासिक कार्यक्रम हुने भएको अध्यक्ष विष्टले बताए । पोखरा क्षेत्रका नारायण गुरुङ, विधान लामा साथै विश्व ओलम्पिक कमिटिको समेत प्रतिनिधिहरुको सहभागिता हुने भएको उनले बताए ।
पर्यटन र खेलकुदको राजधानिको रुपमा परिचित पोखराको खेल पर्यटनको प्रबद्र्धन गर्न र आलम्पियनहरुको घुमघाममा बढी रुचाएको स्थल भएको हुनाले पनि पोखरामा उनीहरुलाई भेटघाट गराउने व्यबस्था गरेको अध्यक्ष विष्टले बताए । धेरै ओलम्पियनहरुले पोखरा क्षेत्रमा सायद नआएको र नेपालमा थोरै ओलम्पियनहरु भएकोले गर्दा पनि यो कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । हरेक प्रदेशमा यस कार्यक्रमलाई लैजानले आफुहरुको योजना भएको समेत अध्यक्ष विष्टले बताए । उनले भने “ओलम्पियनहरुलाई सबै प्रदेशका नागरिकहरुले चिन्नु पर्छ, हरेक बिद्यालयले समेत चिन्नु पर्छ भन्ने मेरोे मान्यता हो ।” आफुहरु यो देशको लागि खेलेकोले त्यसको महत्व बुझेर आफुहरुले हरेक क्षेत्रमा राम्रो कामको लागि राखेको प्रस्तावमा सहयोग जुट्ने गरेको बताएका अध्यक्ष विष्टले यस कार्यक्रमलाई सफल पार्न सरकारी तथा गैरसरकारी एवं विभिन्न व्यक्ति तथा संघ संस्थाहरुका साथै स्थानिय स्तरबाट समेत भरपूर्ण सहयोग हुने अपेक्षा गरेका छन् ।
नेपालका ओलम्पियनहरु यही जेठ १९ गते पोखरामा आउने र उनीहरुलाई पोखरामा स्वागत सत्कार गर्ने, भोलिपल्ट जेठ २० गते शनिबार पोखरामा प्रभात फेरी तथा बिषेश सम्मान समारोह र जेठ २१ मा खेलाडी एवं खेलकुदकर्मीसंग अन्तरकृया कार्यक्रम तथा पोखरा भ्रमण हुदै धान्द्रुकसम्मको घुमघामको कार्यक्रम हुने प्रारम्भिक चरणमा छलफल भएको छ । आन्तरिक रुपमा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा टोलीले आन्तरिक रुपमा व्यबस्थापन देखि आगन्तुक ओलम्पियनहरुको भव्य स्वागत तथा सत्कार र घुमघामको व्यबस्था मिलाउने भएको छ ।
यसैबिच सोमबार संघका अध्यक्ष दीपक विष्टको अध्यक्षतामा पोखरामा बिहान बसेको छलफलबाट उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न पोखरेलीहरुले सहयोग गर्ने वचन दिएका छन्। कार्यक्रममा अध्यक्ष विष्टले पोखरामा आफुहरु आउन उत्साहित भएकोले आन्तरिक रुपमा उक्त कार्यक्रमलाई सफल पार्न व्यबस्थापनमा सहयोग गर्न आव्हान गरे । पूर्व बक्सिङका पदकधारी खेलाडी एवं पर्यंटन व्यवसायी गणेश भट्टराईले खेलाडी भनेको सबै भन्दा ठुलो कुरा भएकोले नेपालको लागि खेलेका ओलम्पियनहरु पोखरामा आउनु आफैमा ठ्ुलो कुरा भएको बताए । पोखरामा हुने उक्त कार्यक्रमलाई सफल पार्न कुनै कसर बाँकी नराख्ने उनले बताए । गण्डकी प्रदेशका सांसद प्रकाश बरालले उक्त कार्यक्रम पोखरामा पहिलो पटक गराउने तयारी गरेमा संघलाई धन्यवाद दिदै आवश्यक सहयोग गर्ने वचन दिए । प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले उक्त कार्यक्रमलाई ऐतिहासिक बनाउनु पर्नेमा जोड दिए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले खेल पर्यटनको शहर पोखरामा उक्त कार्यक्रम हुँदा यस क्षेत्रका पर्यटन प्रबद्र्धन हुने विश्वास व्यक्त गरे । उक्त कार्यक्रमलाई भव्य र सफल पार्न मञ्चले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए । पोखरा १३ का वडा अध्यक्ष किरण बरालले पोखरा क्षेत्रमा हुने उक्त कार्यक्रमलाई सफल पार्न आवश्यक समन्वय गर्न तयार रहेको बताए । नेपाल भूतपूर्व खेलाडी मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले ओलिम्पियनको आरामदायी बसाई हुने गरी कार्यक्रमः बनाउन सुझाव दिए । पोखरा महानगपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले सबैसंगको सहकार्यमा उक्त कार्यक्रमः उत्कृष्ट बनाउने योजनामा आफुहरु रहेको बताए ।