समाजवादको ह्याट

-


     गण्डकी बहस     
     श्रावण २६ गते २०८२ मा प्रकाशित


–कोमलनाथ वराल

‘‘समाजवादको ह्याट अर्थात टोप सवैले लगाउदा लगाउदै च्यातियो ।’ यो भनाई कुनै एक प्राध्यापकको हो । यो पंक्तिकार कलेजको विद्यार्थी हुँदा एकजना राजनीति शास्त्रका प्राध्यापकले प्राध्यापन गराउने सन्दर्भमा त्यतिवेला प्रचलित वादहरु अर्थात माक्र्सवाद देखी गान्धीवादसम्मको चर्चा गर्दा समाजवादवारे व्यक्त गरेको उनको भनाई हो यो । आजभोली जस्तै त्यतिवेला अर्थात आजभन्दा पचपन्न साठी वर्ष अघि विश्वमा समाजवादको चर्चा निकै चलेको थियो । किनकी तयतिवेला सोभियतसंघ, पूर्वी युरोपका देशहरु चीन, कोरिया तथा भियतनाम साथै कम्वोडियासम्म समाजवादको छाल पुगेको थियो । यहाँसम्म कि ईन्दिरा गान्धीको भारत पनी आँफुलाई समाजवादी भन्न रुचाउथ्यो । कुन देश कति समाजवादी थिए भन्नेकुरा आँप्mनो ठाउँमा छ, र त्यस्को मूल्याङ्कन ईतिहासले गर्दै आएको छ र गर्दै जाने पनि छ । जे होस समाजवादको ह्याट् धेरैले लगाएकै थिए र यो च्यातिदै गएको पनि थियो । त्यसैले ती प्राध्यापकको उक्त भनाई सही सावित हुँदै गएको कुरा महशुस भैरहेको छ ।
यो प्रसङ्ग यहाँ किन उठाउन खोजिएको हो भने हाम्रो देस नेपालमा यतिवेला निर्वाचन आयोगमा दर्ता भएका वा नभएका कुनैपनि राजनीतिक दल, सस्था तथा व्यक्ति विशेषले समेत समाजवाद भन्दा तलको कुरा गर्दै गर्दैनन् । त्यसोत संविधानको प्रस्तावनामा समेत अव नेपाल समाजवाद उन्मुख हुनेछ भन्ने उल्लेख गरिएपछि त्यो भन्दा तलको कुरा गर्नु त राजनीतिक वहस नै भएन नि आज भोली यहाँ आफ्ना आफ्नै मोडेलको समाजवाद वारे ब्याख्या विश्लेषण गरिने गरेका छन् । विज्ञान, दर्शन तथा सिद्दान्तका आधारमा समाजवादको व्याख्या विश्लेषण होईन आफ्ना अनुकुलको ब्याख्या एवं वहस गर्ने प्रचलनले सामान्य जनसमुदायमा भ्रम सृजना गराईदिएको छ । साधारण जनतालाई के ठिक के वेठिक भन्ने अन्योलताको भूमरीमा पु¥याइदिएको छ । हुनत भौगोलिक तथा सामाजिक विशिष्टताका आधारमा आफ्नै मुलुक अनुसारको समाजवाद भन्न सकिएला तर समाजवादका आधारभूत शर्तहरु त समाविष्ठ गर्न पर्छ होला नी । कोही प्रजातान्त्रीक समाजवादका वहस गर्दै छन् भने कोही लोकतान्त्रीक समसााजवादमा, कोही सामाजीक लोकतन्त्रमा त कोही निखारा समाजवादमा । त्यसैगरि वैज्ञानिक समाजवाद पो खासमा समाजवाद हो भन्ने वारेमा पनि जोडतोडमा वहस चलिरहेको छ । उसो त समाजवाद र राष्ट्रवादका नाराले देस ध्वस्त भयो भन्ने सोनाम धन्य वौद्धिक पनि नभेटिने होईनन् । उनले कस्तो समाज निर्माण गर्न खोजेका हुन भन्ने प्रश्न उठेकै छ । त्यो त वौद्धिक दिवालया हो भन्दा अतिसयोक्ति नहोला ।
यसरी हेर्दा आजभन्दा साठी वर्ष अघि ‘समाजवादको ह्याट’ च्यातिदै गएको टिप्पणी गर्ने राजनीति शास्त्रका प्राध्यापक सही ठाँउमा रहेछन् की भन्न करै लाग्छ । आखिर समाजवाद समाजवादै हो, यस्मा फरक फरक व्याख्या विश्लेषण हुनु दृष्टिकोणको भिन्नता हो । हुनपनि हो समाज विबिधताको रंगशाला हो । अर्थात सयौं फुलको फुलवारी हो । यहि विविधतामा विभिन्न विचारहरु जन्मन्छन् । विचारका भिन्नतावाट भिन्नभिन्नै समूह विकसित हुन्छन् । तिनै भिन्न समूहरु नै राजनीतिकदलमा रुपान्तरित हुन्छन् । यसरीनै राजनीतिक दलका दृष्टिकोण फरक फरक हुने भए । यहीनेर वर्गाीय दृष्टिकोणपनि उम्रिन्छ । अत ः राजनीतिक दलहरुले वस्तुलाई हेर्ने, बुभ्mने र व्याख्या गर्ने दृष्टिकोेण अलग अलग हुनेकुरा नकार्न सकिदैन । त्यसो त राजनीतिक दलहरुको उद्धेश्य राष्ट्र र जनताकको सेवा र सामाजिक न्याय सहितको समुन्नत समाज निर्माण गर्ने हो । त्यस्को निम्ति राजनीतिक दलहरुले नीति, उद्धेश्य, कार्ययोजना स्पष्टसँग प्रस्तुत गर्नुपर्यो । लक्ष अनुसारको कार्ययोजना वन्यो कि वनेन हेर्नुपर्यो । लक्ष प्राप्त गर्ने मार्ग चित्र स्पष्ट हुनुपर्यो । एकातिर गन्तव्य अर्को तिर मार्गचित्र भएमा कसरी गन्तव्यमा पुगिएला ! सहि कार्यनीति भएमा मात्र रणनीति प्राप्त हुन सक्छ भन्ने कुरा सवैले वुझेकै विषय हो ।
स्पष्ट शव्दमा भन्नुपर्दा समाजवादमै जाने हो भने समाजवाद वैज्ञानिक नै हुनुपर्यो । सामाजिक न्याय विनाको समाजवाद वैज्ञानिक हुन सक्दैन । अव रह्यो समाजवाद के हो ? उही च्यातिएको टोप की अरु केही ? प्रश्न यहीनेर उठीहाल्छ । नेपाली जनताले समाजवादको लागि पचहत्तर वर्ष लडिसके । हजारौको मात्र होईन, लाखौ जनताको रगत वगिसक्यो । साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद नोकरशाह तथा दलाल पुँजिवाद त्यसैगरि जनवाद, समाजवाद तथा साम्यवाद भन्दै घोकेको र घोकाउन थालेको पनि त्यतिकै वर्ष वितिसके । तर अझैपनि समाजवाद के हो ? कसरी ल्याउने हो ? भन्ने अन्यौलता रहनु विडम्वना हो । कसैलाई यहि संघिय लोकतान्त्रीक गणतन्त्र पचेको छैन, कसैलाई यहि नै हो समाजवाद भन्ने छ । कसैलाई भोट हाल्दै जाने हो आईहाल्छ नी समाजवाद भन्ने छ । माक्सवादले बल प्रयोग विना परिवर्तन संभव छैन भन्छ । यसरी विभिन्न कुराहरु पस्केर नेपाली जनतालाई कुहिरामा काग रुमल्लिए झै रुमल्याईएको त छैन ? भन्ने लाग्दछ । समाजवाद भोलिको बिषय वनाएर यथास्थितिमा रमाउनु परिवर्तनकारी राजनीतिक दलहरुको ठूलो कमजोरी हो ।
यसरी सधैं नेपाली जनतालाई भ्रमित पार्नु एक प्रकारले अपराधै हो । विशेष गरेर आमूल परिवर्तनमा बिश्वास गर्ने राजनीतिक दलहरुले वैज्ञानिक समाजवाद के हो ? यो प्राप्त गर्ने रोडम्याप के हो ? स्पष्ट पार्नै पर्छ । त्यतिमात्र होईन, समाजवादले जनतालाई के दिन्छ ? ठोस र मुर्त रुपमा प्रस्तुत गर्नुपर्छ । मुर्त रुपमा भन्नुपर्दा समाजवादमा शिक्षा नीति कस्तो हुने ? स्वास्थ्य नीति कस्तो हुने ? कृषि क्षेत्रमा समाजवाद कस्तो हुने ? समाजवादी औद्योगिक नीति कस्तो हुने ? समाजवादी भूमि व्यवस्था कस्तो हुने ? साँस्कृतिक र धार्मिक नीति कस्तो हुने ? ब्यापार व्यवसाय सम्वन्धी नीति कस्तो हुने ? परराष्ट्र सम्वन्ध कस्तो हुने ? वर्गीय, जातीय तथा क्षेत्रिय विभेदको स्थिति कस्तो हुने ? व्यक्तिगत सम्पत्तिको अवस्था कस्तो हुने ? राज्य संचालन सम्वन्धमा सेना, पुलीस, कर्मचारीतन्त्र तथा न्याय व्यवस्थापन कस्तो हुने ? यी सम्पूर्ण विषयमा विस्तृत व्याख्या सहित दस्तावेज तयार गर्नुपर्छ । त्यो खालको प्रशिक्षण अभियान संचालन गर्नुपर्छ । यि विषयमा जनतामा विश्वास स्थापित गर्नुपर्छ । तवमात्र जनता समाजवादी क्रान्तिको अभियानमा सहभागि हुँनेछन् । सँगसँगै यो लक्ष हाँसिल गर्न ठोस कार्ययोजना समेत प्रस्तुत गर्नु पर्छ । अन्यथा अर्को पचहत्तर वर्ष पनि यत्तिकैमा नजाला भन्न सकिंदैन । स्पष्ट रोडम्याप र दृढ ईच्छाशक्ति विना समाजवादी क्रान्ति सम्भव छैन । हेक्का राख्ने कि ?