
लेखनाथ १८ जेठ । त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ का पूर्व विद्यार्थीहरुको संस्था त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एसोसियशनको अध्यक्षमा असिम पाण्डे निर्वाचित भएका छन् ।
एशोसियशनको शनिवार सम्पन्न तेश्रो साधारण सभा एवं दोश्रो अधिवेशनले पाण्डेको नेतृत्वमा ९ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सर्बेन्द्र न्यौपाने, सचिव सृजना अधिकारी, सहसचिव सुजन आचार्य र कोषाध्यक्षमा पबिन गौतम निर्वाचित भएका छन् । यसै गरी समितिको सदस्यमा सचिन रानाभाट ‘बलराम’, श्रृष्टी तिवारी, सलिना घिमिरे र सिम्रन रेग्मी निर्वाचित भएका छन् ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै त्रिवेणी इन्टरनेशनल कलेजका संचालक समितिका अध्यक्ष सुमन भट्टराईले कलेजमा अध्ययनरत विद्यार्थीलाई पारिश्रमिक सहितको इन्टर्नको सुविधा दिनु पर्नेमा जोड दिनु भयो ।
कलेजबाट अध्ययन सकाएपछि विद्यार्थीहरु जनशक्तिको रुपमा बजारको पहिलो रोजाईमा परेको उल्लेख गर्दै, अध्यक्ष भट्टराईले शैक्षिक गुणस्तरमा कुनै संझौता नगरिने बताउनु भयो । अध्यक्ष भट्टराईले कलेज निजि क्षेत्रबाट संचालित भएपनि न्युनतम शुल्कमै गुणस्तरिय शिक्षा प्रदान गरिएको उल्लेख गर्नु भयो । पूर्व विद्याथीहरुलाई कलेजले सिकाई केन्दका रुपमा विकास गरी उनिहरुको शिप र ज्ञानलाई हस्तान्तरण गर्नु पर्नेमा जोड दिनु भयो ।
त्यस्तै कलेजका पुर्व अध्यक्ष बाबुराम गिरीले पूर्व बिद्यार्थी मंच कलेजको एक अभिन्न अंग भएको उल्लेख गर्दै, शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले सम्न्धन प्राप्त त्रिभुवन विश्वविद्यालयबाट थप कार्यक्रमको अनुमति लिई संचालन गरिने बताउनु भयो ।
कार्यक्रममा कलेजका क्याम्पस प्रमुख यदुराज आचार्य, संचारकर्मी नवराज सापकोटा, बिद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन भट्टराई लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
यसै बीच त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एशोसियसनका अध्यक्ष रामकृष्ण लामिछानेले अध्यक्षको प्रतिबेदन तथा कोषाध्यक्ष सृजना अधिकारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव असिम पाण्डेले गर्नु भएको थियो ।







